newskoseli.Com

राजनीति आफैं हुन्छ, तपाईंले गरिरहनै पर्दैन : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘राजनीति गरिरहनु नपर्ने, त्यो त आफैं हुने’ बताएका छन् । बिहीबार बालुवाटार छाड्ने तयारीमा रहेका कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले राष्ट्रिय युवा परिषदका देशभरका जिल्ला अध्यक्ष तथा पार्टीसम्बद्ध युवाहरुलाई निर्देशन दिँदै सो कुरा बताएका हुन् ।

‘राजनीति गर्छु भनेर लाग्नुभो भने तपाईंहरु बिग्रनुहुन्छ । तपाईंहरु काम गर्नोस्, राजनीति नगर्नोस्’, युवानेताहरुलाई सम्बोधन गर्दै ओलीले भने– ‘राजनीति त आफैं हुन्छ, तपाईंहरुले गर्नै पर्दैन । प्रधानमन्त्री भएर मैले पनि धेरै राजनीति गरेको छैन, अलिअलि मात्रै राजनीति गरेको हुँ तर ठूलो राजनीति आफैं भयो ।’

‘हामीले एमालेको पोजिसन अत्यन्त राम्रो बनाएका छौं । हामी नै अहिले सबैभन्दा राम्रो पोजिसनमा छौं’, अध्यक्ष ओलीले यतिबेला देशमा एमालेको ‘पोजिसन’ अत्यन्तै राम्रो भएको बताउँदै भने– ‘सरकारमा बसेर हामीले अरु केही गरेनौं, राष्ट्र र जनताको स्वाभिमान जोगायौं, देश र जनताको शिर उच्च पारिदियौं यही कामले नै एमालेको पोजिसन सबैको भन्दा राम्रो बनाइदियो ।’

युवाहरुलाई ‘इन्नोभेटिभ’ तरिकाबाट सोच्न निर्देशन दिँदै ओलीले भने– ‘तपाईंहरु पदका लागि लडाइँ नगर्नोस्– काम गर्नोस्, तपाईंको कामले गर्दा पद नै तपाईंलाई खोज्दैखोज्दै तपाईंकहाँ आइपुग्छ ।’

‘देशमा ३–३ वटा चुनाव हुँदैछन् भनेर त तपाईंहरुलाई थाहा छ नि ! परीक्षा दिने विद्यार्थीले जाँचका बेला केही दिन पढेर पुग्दैन । नत्र त युनिभर्सिटीहरुले ३–४ वर्षका कोर्ष किन राख्थे ?’ ओलीले युवाहरुलाई निर्देशन दिँदै भने– ‘ठीक त्यसैगरी चुनावकै बेला मात्र तातेर मात्र चुनाव जितिँदैन, अहिलेदेखि नै चुनावको तयारीमा लाग्नोस्, जनताका बीचमा डटेर काम गर्नोस् र आफ्नो भोट प्लास्टर गरेर, वाटरप्रुफ बनाएर राख्नोस् ।’

ओली सरकार स्पष्ट अल्पमतमा परिसकेपछि मन्त्रीहरु घर फर्कने बेलामा एमालेसम्बद्ध युवासंघका नेता–कार्यकर्ताहरु मात्रै समेटेर एकलौटी ढंगले सरकारी स्तरको ‘राष्ट्रिय युवा परिषद’ गठन गरेको भन्दै कांग्रेससम्बद्ध तरुण दल र माओवादी केन्द्रसम्बद्ध वाईसीएलले आपत्ति जनाइरहेकै बेला प्रधानमन्त्री ओलीले परिषदका नवनियुक्त जिल्ला अध्यक्षहरुलाई बधाई, शुभकामना तथा निर्देशन दिन सोमबार साँझ बालुवाटारमा संक्षिप्त कार्यक्रम आयोजना गरेका हुन् ।

परिषदमा भएको युवाहरुको नियुक्तिलाई अध्यक्ष ओलीले ‘डेभलपमेन्ट अप्वाइन्टमेन्ट’ को संज्ञा दिँदै भने– ‘यो अप्वाइन्टमेन्ट पोलिटिकल अप्वाइन्टमेन्ट होइन, डेभलपमेन्ट एप्वाइन्टमेन्ट हो त्यसैले तपाईंहरुले काम गर्नोस् । जनतामा भिजेर दह्रोसँग काम गरिसकेपछि तपाईंहरु नेता बन्नुहुन्छ ।’

एमाले महासचिव ईश्वर पोखरेल, सूचना तथा सञ्चारमन्त्री शेरधन राईसहित दर्जनौं मन्त्री, सांसद तथा नेताहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन एमालेका युवानेता एवम् राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर