newskoseli.Com

दाहालको एक्लो उम्मेदवारी, एमालेले विपक्षमा मतदान गर्ने

बहुमतीय आधारमा प्रधानमन्त्री चयनका लागि बुधबार हुने निर्वाचनका लागि मनोनयन दर्ता गराउन तोकिएको मंगलबारको निर्धारित समय सकिँदासम्म नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको मात्रै उम्मेदवारी परेको संसद सचिवालयले जनाएको छ ।

दाहालको प्रतद्वन्द्वीका रूपमा एमालेले पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको मनोनयन गराउने चर्चा भए तापनि अन्तिम समयमा नेम्बाङ पछि हटिदिएकाले बुधबार एमालेले दाहालको विपक्षमा मतदान गर्ने भएको छ ।

व्यवस्थापिका–संसद् सचिवालयले प्रकाशन गरेको सूचनाअनुसार मंगलबारको निर्धारित समयमा प्रधानमन्त्रीमा अध्यक्ष दाहालको मात्र उम्मेदवारी परेको छ । सचिवालयका अनुसार अध्यक्ष दाहालको उम्मेदवारीमा नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा प्रस्तावक रहेका  छन् भने संसदका अन्य १६ दलका नेता समर्थक रहेका छन् ।

मंगलबार अबेरसम्मको अवस्था हेर्दा प्रधानमन्त्रीको निर्वाचनमा दाहाललार्इ १६ दलका ३ सय ६६ सांसदको समर्थन प्राप्त हुने निश्चित देखिएको छ । मधेशी मोर्चालगायत विभिन्न साना दलले सरकारमा सहभागी हुने तीव्र इच्छा प्रकट गरिरहेको र हार्ने निश्चित नै भए पनि दाहालको विपक्षमा मतदान गर्ने कुनै उम्मेदवार खडा नभएकाले दाहालको पक्षमा समर्थन गर्ने सांसदको संख्या अझै बढ्ने सम्भावना छ ।

सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईंकेलका अनुसार अध्यक्ष दाहालको उम्मेदवारीमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता परशुराम तामाङ, सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले समर्थन जनाएका  छन् ।

त्यस्तै, अध्यक्ष दाहाललाई नेकपा (संयुक्त) का जयदेव जोशी, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, नेपाली जनता दलका हरिचरण साह, जनजागरण पार्टीका लोकमणि ढकाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का रुक्मिणी चौधरी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपालका रामकुमार राई, थरुहट तराई पार्टी नेपालका गंगा चौधरी (सत्गौवा),मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का योगेन्द्र चौधरी, अखण्ड नेपालका कुमार खड्का, दलित जनजाति पार्टी नेपालका यसोदाकुमारी लामा र स्वतन्त्र सांसद चन्द्रेश्वर झाले समर्थन जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर