newskoseli.Com

४० प्रतिशत माग्दै रामचन्द्रको रडाको

कांग्रेसले पाउने मन्त्रालयहरुमध्ये आफ्नो गुटका मान्छेले ४० प्रतिशत भागबन्डा पाउनुपर्ने भन्दै नेता  रामचन्द्र पौडेलले रडाको मच्चाइरहेका छन् । उता सभापित देउवा भने सकेसम्म कांग्रेस टिमकै नेतृत्व गरेर र त्यो सम्भव नभए पनि ‘पावरफुल’ मन्त्रालयको जिम्मा दिएर पत्नी आरजु देउवालाई दाहाल सरकारमा पठाउने निर्णयमा पुगेको भन्दै कांग्रेसभित्र सत्ताको महाभारत उत्कर्षमा पुगेको छ ।

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बन्न लागेको नयाँ मन्त्रीपरिषदमा सबैभन्दा बढी ‘मालदार मन्त्रालय’ पाउने नेपाली कांग्रेसबाट क–कसलाई मन्त्रीपरिषदमा पठाउने भन्ने किचलो उत्कर्षमा पुगेको छ । यही किचलोबीच ४० प्रतिशत भागबन्डा आफ्नो गुटले पाउनुपर्ने भन्दै पौडेल  र उनी पक्षधरहरुले रडाको मच्चाएका हुन् ।

‘संस्थापन पक्ष’ र ‘असन्तुष्ट पक्ष’ भन्दै सधैं नै दुई गुटमा विभक्त रहने गरेको कांग्रेसमा यसअघि ‘कोइराला खान्दान’ संस्थापन र हालका सभापति शेरबहादुर देउवा पक्ष असन्तुष्ट रहँदै आएको थियो ।

यसअघि पनि संस्थापन र असन्तुष्ट पक्षबीच हरेकजसो विषयमा ६०–४० को भागबन्डा चल्दै आएको थियो । सोही ‘परम्परा’ कायम राख्दै यतिबेला पनि हरेक विषय–मामलामा आफ्नो गुटलाई ४० प्रतिशत हिस्सेदारी दिनुपर्ने माग नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिको दावेदारी गर्दै पराजित भएका रामचन्द्र पौडेल र उनी पक्षधर नेताहरुले राख्दै आएका छन् ।

विगतदेखिको सोही ‘परम्परा’ पछ्याउँदै दाहाल नेतृत्वको सरकारमा कांग्रेसका तर्फबाट समाविष्ट हुने मन्त्रीहरुमा समेत आफ्नो पक्षबाट ४० प्रतिशत हुनुपर्छ भन्दै नेता पौडेल र उनी पक्षधर नेताहरुले सभापति देउवामाथि चर्को दबाव सिर्जना गरिरहेका छन् ।

सभापति देउवाले भने अझैसम्म पनि सरकारमा कांग्रेस टिमको नेतृत्व गरेर जाने नेता र मन्त्री बन्ने व्यक्तिहरुबारे अन्तिम निर्णय लिन सकिरहेका छैनन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर