newskoseli.Com

उदाहरणीय काम गरेर देखाउँछु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा उदाहरणीय काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् । बिहीबार आफ्नै निवास लाजिम्पाटमा प्रेस सेन्टर नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले समय निकै कम भएकाले दिनरात नभनी मुलुक र जनताको पक्षमा काम गर्ने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारको प्रमुख प्राथमिकतामा भूकम्पपछिको पुनर्निर्माण, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता र संविधानको कार्यान्वयन नै रहेको बताए ।

चुनौतीपूर्ण अवस्थामा आफू मुलुकको कार्यकारी प्रमुखमा निर्वाचित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चुनौतीलाई अवसरमा बदल्ने र नेपाली जनतालाई केही न केही फरक महसुस हुनेगरी काम गर्ने दृढता व्यक्त गरे । उनले जनतालाई तत्कालीन राहत दिँदै केही दीर्घकालीन योजना समेत अगाडि बढाउने सोचमा आफू रहेको जानकारी दिँदै त्यसमा सबैको साथ र सहयोग जरुरी रहेको बताए ।

संविधानसभाको पहिलो निर्वाचनपछिको करिव १० वर्षमा धेरै राजनीतिक उतारचढाव आएको भन्दै प्रधानमन्त्री दाहालले विगतको अनुभवका आधारमा पनि केही न केही नयाँ गर्नैपर्ने अवस्थामा आफू रहेको उल्लेख गरे ।

उनले आफ्नो नेतृत्वको सरकारको प्राथमिकता उल्लेख गर्दै भने– “आन्तरिक राष्ट्रिय एकता सुदृढीकरण, मधेसी, थारु, आदिवासी, जनजाति तथा अल्पसङ्ख्यक समुदायको माग सम्बोधन, संविधानको कार्यान्वयन गर्दै मुलुकलाई निर्वाचनतर्फ लैजाने र लामो समयदेखि अवरुद्ध हुँदै आएको भूकम्पपछिको पुनर्निर्माण अभियानलाई तीव्रता दिनु नै प्रमुख प्राथमिकता रहेका छन् ।”

बेरोजगार युवालाई मुलुकभित्रै रोजगारी दिन आफूले केही नयाँ कार्यक्रम अगाडि सार्ने र विदेशमा रहेका युवालाई स्वदेश फर्काउन पहल गर्ने उनको कथन थियो । मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट जनधनको क्षति भएकालाई राहत तथा पुनर्स्थापना गर्ने, सहिद–बेपत्ता परिवारलाई राहत तथा सरकार भएको अनुभव दिलाउने प्रधानमन्त्रीको प्रतिबद्धता छ ।

प्रधानमन्त्री दाहालले भने– “मेरो लागि लामो समय छैन, हरेक दिन र हरेक घन्टालाई सदुपयोग गरेर मुलुक र जनताका सामु अमिट छाप छोड्नेगरी काम गर्छु । त्यसमा सहयात्री दल र सबैको साथ र सहयोग जरुरी रहन्छ ।”

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर