newskoseli.Com

के चुनावको तयारीमा लाग्दैछ वैद्य माओवादी ?

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले पार्टीका उपाध्यक्ष सीपी गजुरेलको नेतृत्वमा संयुक्त मोर्चा समिति बनाउने निर्णय गरेको छ । बैठकले उक्त मोर्चाको राष्ट्रिय भेला समेत छिट्टै आयोजना गरिने जनाएको छ ।

वैद्य माओवादीको यस्तो निर्णयलाई सो पार्टीले चुनाव लड्ने तयारी गरेको अर्थमा धेरैले बुझेका छन् । वैद्य माओवादीबाट क्रमशः नेत्रविक्रम चन्दहरु र रामबहादुर थापाहरुको समूह अलग्गिनुअघि नै दोस्रो संविधानसभा निर्वाचनअघि गजुरेलकै नेतृत्वमा ‘वैधानिक मोर्चा’ बनाएर निर्वाचन आयोगमा दर्ता गरी सोही मोर्चामार्फत वैद्य माओवादीले चुनाव लड्ने चर्चा चुलिएको थियो ।

त्यसबेला मूलतः नेत्रविक्रम चन्द, गड्गबहादुर विश्वकर्मालगायतका नेताहरुले तीव्र विरोध जनाएपछि वैद्य माओवादीभित्रका ‘वैधानिक मोर्चा’ बनाएर त्यसैमार्फत दोस्रो संविधानसभाको चुनावमा भाग लिनुपर्ने मतवालाहरु पछि हटेका थिए । त्यसपछि सो पार्टीले दोस्रो संविधानसभाको निर्वाचनलाई ‘सशक्त र सक्रिय बहिष्कार’ गरेको थियो ।

अहिले एकाध वर्षभित्र स्थानीय, प्रान्तीय र संघीय गरी तीनथरी चुनाव हुने चर्चा चलिरहेका बेला वैद्य माओवादीले फेरि उनै गजुरेलको नेतृत्वमा ‘संयुक्त मोर्चा समिति’ गठन गरी तत्काल सो मोर्चाको राष्ट्रिय भेला गरिने निर्णय लिनुलाई छद्म नामबाट चुनाव लड्ने वैद्य माओवादीको तयारीका रुपमा कतिपयले लिएका हुन् ।

‘अध्यक्ष क. किरणद्वारा बैठकमा सङ्गठन, सङ्घर्षलगायत विविध विषयमा मौखिक प्रस्ताव प्रस्तुत भयो र आवश्यक छलफलपश्चात् परिमार्जन तथा संशोधनसहित सो प्रस्ताव सर्वसम्मत रूपमा पारित गरियो’, साउन १६ देखि १९ सम्म राजधानीमा बसेको पार्टी केन्द्रीय समितिको बैठकपछि अध्यक्ष वैद्यद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ– ‘केन्द्रीय समितिका कतिपय रिक्त स्थानहरूमा कतिपय जिम्मेवार कमरेडहरूलाई थप गरी समावेश गरिएको छ । यसैगरी केन्द्रीय सल्लाहकार समितिमा पनि कतिपय कमरेडहरूलाई थपगरी समावेश गरिएको छ । साथै, केन्द्रीय समितिका सदस्यहरूको आवश्यक कार्यविभाजन समेत गरिएको छ ।’

मोर्चा गठनको निर्णयबारे उल्लेख गर्दै अध्यक्ष वैद्यले विज्ञप्तिमा भनेका छन्– ‘कमरेड सीपी गजुरेलको नेतृत्वमा संयुक्त मोर्चा समिति बनाउने निर्णय लिइएको छ र छिट्टै सो मोर्चाको राष्ट्रिय भेला आयोजना गर्ने ठेगान भएको छ ।’ त्यसैगरी वैद्य माओवादीले क्रान्तिको तयारी र संघर्षको विकासका निम्ति पनि कतिपय निर्णय लिइएको जनाएको छ । अध्यक्ष वैद्यको विज्ञप्तिमा भनिएको छ– ‘क्रान्तिको तयारी तथा सङ्घर्षको विकासका निम्ति विचार, सङ्गठन र आर्थिक व्यवस्थापनका काममा केन्द्रित तथा घनीभूत रूपमा सिङ्गो पार्टी पङ्क्तिलाई प्रभावकारी रूपमा परिचालित गर्ने निर्णय लिइएको छ ।’

वैद्य माओवादीले सङ्घर्षबारे निम्नानुसार निर्णय लिइएको जनाएको छ–

  • राष्ट्रिय स्वाधीनता र अपर कर्णाली लगायत जलविद्युत् परियोजनाबारे व्यवस्थित रूपमा सङ्घर्षलाई विकसित तुल्याउने र त्यसबारे यही भाद्र २४ गते देशव्यापी विरोध प्रदर्शन गर्ने ।
  • सुकुम्बासी समस्याबारे प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने र भाद्र १५ गते देशका विभिन्न जिल्लाहरूमा विरोध प्रदर्शन गर्ने ।
  • संयुक्त मोर्चा तथा विभिन्न जवस मोर्चाहरूमार्फत भ्रष्टाचार, कमिशनखोरी, महङ्गी, कालाबजारीको विरोध र भूकम्पपीडितहरूका लागि नवनिर्माणको व्यवस्था लगायतका विषयलाई लिएर सङ्घर्षको कार्यक्रम दिने ।
  • राष्ट्रियता, जनतन्त्र र जनजीविकाका ज्वलन्त विषयलाई लिएर आवश्यक तयारीसहित सङ्घर्षका अन्य  कार्यक्रम दिंदै जाने ।
  • स्थानीय रूपमा राज्य र जिल्लाहरूको स्थितिमाथि आवश्यक ध्यान दिंदै त्यसअनुरुप सिर्जनात्मक रूपमा आवश्यक पहल गरी सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्ने ।

वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले सरकारद्वारा राज्य पुनर्संरचना अन्तर्गत स्थानीय रूपमा प्रस्तावित सीमाङ्कनको प्रक्रिया अगाडि बढाएकोमा त्यसबारे धारणा प्रकट गर्दै भनेको छ–

  • गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समानुपातिक प्रतिनिधित्व लगायतका कतिपय विषय आङ्शिक तथा मात्रात्मक रूपमा सकारात्मक रहेपनि समग्रमा वर्तमान संविधानले पुरानै राज्यसत्ताको संरक्षण गरेकोले त्यसप्रति हाम्रो पार्टीद्वारा असहमति तथा विरोध प्रकट गरिएको,
  • सरकारद्वारा जारी सीमाङ्कनको प्रक्रियाले सम्बन्धित पक्षको पहिचान, पहुँच तथा प्रतिनिधित्व गर्न नसक्ने देखिएको एवम् त्यो सङ्घीयताको मान्यता विपरीत हुन गएको,
  • त्यसमा जिल्ला एवम् वडाहरूलाई यथावतै राख्ने अवधारणा गलत देखिएको,
  • सो प्रस्तावमा यान्त्रिक रूपमा जनसङ्ख्या तोकिएको एवम् त्यसले भूगोलतर्फ ध्यान दिन नसकेको र,
  • स्थानीय निकायलाई अनावश्यक रूपमा ठूलो बनाइएकोले जनतालाई काम गर्न गाह्रो हुने देखिएको स्थितिमाथि आवश्यक ध्यान दिंदै सम्बन्धित निकायमा आफ्नो विरोध तथा असहमति राख्ने निर्णय लिइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर