newskoseli.Com

माओवादी नेताको आरोप : प्रचण्ड प्रतिक्रियावादी कित्तामा उभिए

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका पोलिटब्युरो सदस्य एवं सोही पार्टीले ‘जनसरकार’ का रुपमा गठन गरेको ‘केन्द्रीय जनपरिषद’ का प्रमुख सन्तोष बुढा मगरले दसवर्षे जनयुद्धका नायक प्रचण्ड अहिले प्रतिक्रियावादी कित्तामा उभिएको आरोप लगाएका छन् ।

राजधानीस्थित संवाद डबलीमा शनिबार अखिल नेपाल जनसांस्कृतिक महासंघले आयोजना गरेको ‘कवितामा राष्ट्रियताका स्वरहरु’ विषयक कवि गोष्ठीमा बोल्दै बुढाले भने– ‘दसवर्षे जनयुद्ध जनताको सफल युद्ध भए पनि त्यसका नायक प्रचण्ड स्वयम् प्रतिक्रियावादी कित्तामा उभिन पुगेपछि अब पहिलेको विधि काम छैन । बरु, उनले थाहा नपाउने विधिबाट क्रान्ति अगाडि बढ्छ ।’

कार्यक्रमका प्रमुख अतिथि बुढाले माओवादी पार्टी फेरि जनयुद्धकै बाटोमा जाने भयो, हतियार उठाएर पुरानै बाटोमा लग्दैछ भनेर भइरहेको प्रचार झुटो भएको बताए । नेता बढाले उनको पार्टीले गर्ने भने ‘नेपाली क्रान्ति’ प्रचण्डले थाहा नपाउने विधिबाट हुने समेत बताए ।

नेपाली भूमिमा जनयुद्धको राप र तापले प्राप्त गणतन्त्रात्मक व्यवस्था लगायतका विषयलाई जनपक्षीय व्यवस्थामा ल्याउन ठूलो लडाइँ लड्न अझै बाँकी रहेको बुढाले बताए ।

‘तत्कालीन नेतृत्व जनयुद्धको उत्कर्षकालमा माओवादी पार्टीले दुस्मनको काँडेतार छिचोल्ने र हवाई आक्रमणलाई प्रतिरोध गर्न सक्ने प्रविधिको विकासमा लागेको भए देश अहिले माओवादीमय भइसक्थ्यो’ उनले भने– ‘तर व्यक्तिगत स्वार्थमा लाग्दा प्रचण्ड–बाबुराम बुर्जुवाको क्याम्पमा छिर्न पुगे ।’

कार्यक्रममा वरिष्ठ प्रगतिवादी कवि पूर्ण विराम, सरला रेग्मी, अमृता स्मृति, चिरन पुन, राजु स्याङ्तान, मुक्तान थेबा, निभा शाह, अशोक कुँवर ‘नेत्र’, मोहनलाल घिसिङ, केशव सिलवाल, गणेश बोहोरा, रघु अधिकारी, पुण्य गौतम ‘विश्वास’, ढुण्डीराज अधिकारी, आरोह नेपाली, दिनेश संग्रौला, केवल बिनाबी, अर्जुन कटुवाल, ज्ञानबहादुर खड्का, जीवन हमाल, झनक श्रेष्ठ, सन्तोष बुढा, टेक बलम्पाकी लगायतले कविता र गीतका माध्यमबाट राष्ट्रियताको पक्षपोषण गरे ।

सहिद कृष्ण सेन ‘इच्छुक’, चुनु गुरुङ लगायतका कविता समेत सोही कार्यक्रममा वाचन वाचन गरिए । महासंघ संयोजक एवम् नेकपा माओवादीका केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कुशल बोगटीले गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर