‘नेताहरुमाथि पञ्चहरु र राजाको बक्रदृष्टि परेको थियो, पञ्चायती शासन आएपछि पार्टीका सबै गतिविधि नेविसंघमार्फत सञ्चालन हुन्थ्यो’ नेविसंघको ११औं महाधिवेशन उद्घाटनस्थलमा शुभकामना सन्देश दिँदै नेता अर्जुननरसिंह केसी भन्दै थिए— ‘नेविसंघ नै पार्टीको भूमिकामा थियो, पञ्चायतविरुद्धको आन्दोलन तत्कालीन नेविसंघबाटै छेडिएको थियो ।’
‘नेविसंघ सूवर्णशमशेरको योजना, किसुनजीको विचार र बीपीको आशिर्वादले हुर्किएको हो’ नेविसंघका संस्थापक सभापति विपिन कोइरालाले भने— ‘प्रजातन्त्रको पुनस्र्थापनाका लागि जेलबाटै जन्मिएको नेविसंघले आफ्नो इतिहास बर्सिनुभएन ।’
नेविसंघका पूर्वसभापति कल्याण गुरुङले भने– ‘नेविसंघको झन्डा समात्नु नै पनि कुनै बेला गौरवको विषय बन्थ्यो ।’ नेविसंघकै राजनीतिबाट चर्चामा आएका पूर्वमहामन्त्री गगन थापाले लोकतन्त्रका खातिर ज्यान गुमाएका तमाम् सहिदहरुको नाम जोडेर भने— ‘नेविसंघको झन्डा सहिदहरुको रगतले पोतिएको छ । यसको गरिमा घटाउनु हुँदैन ।’
काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले खचाखच भरिएको हलमा एमालेसम्बद्ध अनुरास्ववियुकी केन्द्रीय अध्यक्ष नविना लामाले भनिन्— ‘लोकतन्त्रको स्थापना, प्रजातन्त्रको पुनर्बहाली र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका खेलेको नेविसंघले लिने नीति र कार्यक्रमले सिंगै देशको भाग्य र भविष्यको फैसला गर्न सघाउँछ । यसर्थ, नेपालको विद्यार्थी आन्दोलनलाई उचाईमा पुर्याउन महाधिवेशन कोशेढुंगा सावित हुनेछ ।’
दुई–दुई वर्षमा हुनुपर्ने नेविसंघको महाधिवेशन आइतबारदेखि काठमाडांैमा सुरु भएपछि अहिले छलफलको केन्द्रीय विषयवस्तु नै यही महाधिवेशन बनेको छ ।
कुनै पनि संगठनका लागि महाधिवेशन रक्तसञ्चारजस्तै हो । निर्धारित समयअनुसार हुने महाधिवेशनले सिंगो संगठनलाई चलायमान बनाउँछ । आफूलाई लोकतान्त्रिक भन्ने दलहरुका लागि त यो प्रक्रिया अझ महत्वपूर्ण छ । तर, संगठनको रक्तसञ्चार मानिने अधिवेशन नहुँदा के हुन्छ भन्ने उदाहरण अहिलेको नेविसंघ बनेको छ । यस्ता तमाम् टिप्पणी नेविसंघका धेरै नेता तथा पूर्वअध्यक्षहरुले पनि गरे ।
यी सबै नेविसंघको महाधिवेशनमा केन्द्रित चिन्ता र चासो हुन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्रवादीहरुले खेलेको भूमिका र योगदान अतुलनीय छ । त्यसमा पनि नेपालको विद्यार्थी आन्दोलनको महत्व अझ गौरवशाली छ ।
नेपाली कांग्रेसमा मात्र होइन, अहिलेको पहिलो पुस्ताका धेरै नेताहरु विद्यार्थी आन्दोलनबाटै आएका हुन् । कुनै बेला नेविसंघका अध्यक्ष, नेविसंघका कार्यकर्ताले बोल्दा पनि ठूलो अर्थ राख्थ्यो । त्यसैकारण नेपालका ठूलठूला परिवर्तनमा आम विद्यार्थीहरुको महत्वपूर्ण भूमिका थियो ।
विद्यार्थीहरुको भूमिका नभएको भए देश न प्रजातन्त्र आउँथ्यो न त मुलुक लोकतन्त्र र गणतन्त्रमै आइपुग्थ्यो । यिनै युवा–विद्यार्थीहरुको तातो रगतसँग राणाशासन झुक्यो, पञ्चायत डरायो, सिंगो राजसंस्था इतिहासमा सीमित हुन पुग्यो । त्यस्ता आन्दोलनमा नेपाल विद्यार्थी संघको उपस्थितिको ठूलो अर्थ लाग्थ्यो ।
यही कारण बीपी कोइरालाले भनेका थिए— ‘विद्यार्थी एकता हाम्रा आदर्श हुन् । विद्यार्थी शक्तिहरुसँग निहुँ खोज्नु भनेको अरिंगालको गोलामा ठुंगा हान्नुसरह हो ।’
इतिहास हेर्दा सदैव नेविसंघले अगुवाई गरेको आन्दोलनमा पार्टी जबर्जस्त आएको छ । तर, कुनै बेलाको त्यो नेविसंघ र अहिलेको नेविसंघमा आकाश–जमिनको अन्तर छ । जनसरोकारका मुद्दाहरु, परिवर्तन र नागरिक हितका लागि प्राणको आहुति गर्ने, वर्गीय हितसँगै देशको राष्ट्रियता, राष्ट्रिय स्वाधीनताका लागि लड्ने नेविसंघ अहिले निरिहजस्तै छ । अहिलेको नेविसंघमा न विद्यार्थी आन्दोलनलाई उचाईमा पुर्याउने योजना र दृष्टिकोण छ न त नेतृत्व नै छ । भएको नेतृत्व पनि गुटका नेताहरुको चाकडीमा लिप्त छ, चन्दाआतंक मच्चाउने प्रपञ्च रच्नमै व्यस्त छ । बुद्धि, विवेक र छविले भन्दा पनि नेताहरुको नांगो आशिर्वाद र छलछामबाट नेतृत्व हत्याउने दाऊ कुरिरहेको छ ।
देशमा शैक्षिक माफियाहरु व्यापक मौलाइरहेका छन् । शैक्षिक व्यापारीकण बढिरहेको छ । शिक्षा भ्रष्टाचार गर्ने प्रमुख केन्द्र बन्दैछ । संसारभर नयाँ प्रविधि, प्रतिस्पर्धात्मक शैक्षिक जनशक्तिको हुंकार आइरहेको छ । तर नेपालमा सबैका लागि शिक्षा योजना कागजमा सीमित छ । विद्यार्थीको हातमा पुस्तक छैन । क्याम्पस र विश्वविद्यालय भर्तीकेन्द्र र राजनीतिको गाईजात्राबाट आक्रान्त छ । सर्टिफिकेटहरु दराजमा खिया लाग्दैछन् ।
विद्यार्थीहरु खाडी मुलुकमा कुल्ली बन्न समेत तयार छन् । दैनिक १ हजार ७ सयभन्दा बढी युवाहरु विदेशिइरहेका छन् । तर, नेपालको विद्यार्थी आन्दोलन मूकदर्शक बनिरहेको छ । नेपालको विद्यार्थी आन्दोलन मुद्दा र नेतृत्वविहीन जस्तै छ । नेपालका विद्यार्थी नेता भनाउँदाहरु नेताहरुको भरिया बनिरहेका छन् । कुनै अर्थबाट पनि तिनका कारणले आम विद्यार्थीहरुले राहत महसुस गरिरहेका छैनन् ।
बरु स्ववियू सभापति, संगठनको नेता बन्ने नाममा क्याम्पस तथा विश्वविद्यालयमा नक्कली विद्यार्थी बनेर आम विद्यार्थीहरुले पढ्न पाउने वातावरण बिथोलिरहेका छन् । विद्याको मन्दिरलाई अनावश्यक आन्दोलनको रणमैदान बनाइरहेका छन् ।
अहिले नेविसंघमा देखिएका अधिकांश नेताहरुले त्यही प्रतिबिम्बित गरिरहेका छन् । ४०–५० कटेका नेताहरु संगठनको नेतृत्वका लागि मरिहत्ते गरिरहेका छन् । धेरैको तर्क छ– ९ वर्ष अधिवेशन भएन, नेतृत्व जाम भयो, अनि ती पूर्वविद्यार्थीहरु कहाँ जाने ? महाधिवेशन नभएको बहानामा नक्कली विद्यार्थी बनेर क्याम्पस, विश्वविद्यालयमा पढ्ने वातावरण बिथोल्ने र विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न पाइँदैन ।
फर्जी क्याम्पस देखाएर, नक्कली विद्यार्थी बनाएर चुनाव त जितिएला, अध्यक्ष तथा नेता त बनिएला तर त्यसले न नेपाली कांग्रेसको न त आम विद्यार्थीको भलो गर्न सक्छ । केवल त्यसले नेपाली विद्यार्थी आन्दोलनलाई रनभुल्लमा पार्नेछ । त्यसैकारण कुहिरोमा हराएको नेविसंघलाई विद्यार्थीहरुको भरोशाको केन्द्र बनाउन र कांग्रेस पार्टी तथा विगतको विद्यार्थी आन्दोलनको गरिमा जोगाउन आम सक्कली विद्यार्थीहरु र हिजोको विद्यार्थी आन्दोलनबाट आएका हौं भनेर कुर्लनेहरुले सोच्नु जरुरी छ ।