newskoseli.Com

मजदुर दिवसमा वैद्यको शुभकामना

अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) को अवसरमा आइतबार लिखित सन्देश सम्प्रेषण गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले सबैमा शुभकामना व्यक्त गरेका छन् ।

‘आज विश्वभर र नेपालमा पनि मजदुरहरू र कम्युनिस्ट क्रान्तिकारीहरूले अन्तर्राष्ट्रिय मजदुर दिवसका रूपमा मई दिवस मनाइरहेका छन् । अमेरिकाको शिकागो सहरमा मजदुरहरूले आफ्ना हक, हितका लागि वीरता र बलिदानीपूर्वक सङ्घर्ष गर्दै ८ घण्टा कार्यदिवसको माग पूरा गराएका थिए’, वैद्यले भनेका छन्– ‘कम्युनिस्टहरूले यस दिवसलाई मजदुरहरूको उत्सवको रूपमा मनाउँदै आएका छन् ।’

‘नेपालमा मजदुरहरूले २००४ सालदेखि नै आफ्ना हक, हित तथा अधिकार निम्ति निरन्तर सङ्घर्ष गर्दै आएका छन् । उनीहरूले अनेकौं जनआन्दोलन र महान् जनयुद्धमा आफ्नो अद्भूत पराक्रम र कीर्तिमान स्थापित गरेका छन्’ आफ्नो शुभकामना सन्देशमा वैद्यले उल्लेख गरेका छन्– ‘परन्तु, अहिलेसम्म पनि उनीहरूका आधारभूत हक, हित र अधिकार प्राप्त हुन सकेका छैनन् । आज मजदुर आन्दोलनको हक, हित र गरिमालाई ध्वस्त पार्नका लागि दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्तवर्गीय पुरानो राज्यसत्ता र साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूले ठूला षड्यन्त्र र कसरत गरिरहेका छन् ।’

‘नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद तथा साम्यवादको दिशामा अगाडि बढेर नै मजदुरहरूको वास्तविक मुक्ति सम्भव छ । त्यस निम्ति सबैखाले प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध निर्मम सङ्घर्ष चलाउन जरुरी छ’, शुभकामना सन्देशको अन्त्यमा अध्यक्ष वैद्यले भनेका छन्– ‘हाम्रो पार्टी मजदुरको मुक्तिका निम्ति आफ्नो प्रतिबद्धता पुनः जाहेर गर्दै अन्तर्राष्ट्रिय मजदुर दिवसको यस ऐतिहासिक अवसरमा मजदुर वर्ग, उत्पीडित जनसमुदाय तथा कमरेडहरूमा हार्दिक शुभकामना तथा बधाई व्यक्त गर्दछ । संसारका मजदुर तथा उत्पीडित जनसमुदाय एक होऔं !’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर