newskoseli.Com

आफू मरेर यात्रु बचाउने विमानचालकले पाए ओजस्वी पुरस्कार

स्व. विमानचालक दिनेश न्यौपानेलाई न्यौपाने बन्धु समाजले ‘नारायण–ईश्वरी न्यौपाने समाजसेवा ओजस्वी पुरस्कार’ प्रदान गरेको छ । आफ्नो जीवन उत्सर्ग गरेर पनि जहाजमा सवार यात्रुलाई बचाउने वीरता, चीरस्मरणीय र गौरवशाली कार्य गरेबापत कदरस्वरुप समाजले उनलाई शनिबार राजधानीमा आयोजित समारोहमा उक्त पुरस्कारद्वारा सम्मानित गरेको हो ।

पुरस्कारको राशि ११ हजार १ सय ११ रूपैयाँ नगद र सम्मानपत्र रहेको छ । समारोहमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले चालक न्यौपानेका पिता मानदत्त, आमा वीरलक्ष्मी र पत्नी रजनीलाई संयुक्त रुपमा उक्त पुरस्कार हस्तान्तरण गरे ।

नेपालगञ्ज–जुम्ला उडानमा रहेको काष्ठमण्डप एयरलायन्सको नाइनएनएजेबी विमानमा अचानक खराबी आएपछि फागुन १४ गते कालिकोटको चित्खायामा आपतकालीन अवतरण गराउने क्रममा चालक न्यौपानेको निधन भएको थियो ।

एउटा मात्र इन्जिन भएको उक्त जहाज आपतकालीन अवतरण गराउँदा त्यसमा सवार ९ यात्रु घाइते भएका थिए । सो दुर्घटनामा सहचालक (को–पाइलट) सन्तोष रानाको पनि निधन भएको थियो ।

यात्रुको जीवनरक्षाका लागि प्राणाहुति दिने कार्य गरेको भनी चालकदलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट ठूलो प्रशंसा भएको थियो । २०४३ जेठ ३० मा डोल्पाको दुनैमा जन्मिएका न्यौपानेले विद्यालयस्तरको पठाइको सिलसिलामा नेपालगञ्ज जाने क्रममा चालकको पोसाक र आकाशमा उड्ने रहर राखेर विमानचालक बन्ने अठोट गरेका थिए । उनले अफ्रिकाबाट चालकसम्बन्धी उच्च शिक्षा हासिल गरेका हुन् ।

समारोहमा मुलुकभरका न्यौपानेका छोराछोरीमध्ये २०७२ मा सञ्चालित उच्च माध्यामिक विद्यालयको अन्तिम परीक्षामा सर्वाेत्कृष्ट नतिजा ल्याउने छात्र आभाष न्यौपाने र छात्रा रोशनी न्यौपानेलाई जनही ११ हजार १ सय ११ रूपैयाँ नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरियो ।

पूवसचिव एवम् समाजका अध्यक्ष वामनप्रसाद न्यौपानेले समाजको भवन निर्माण र वंशावली तयार गर्ने अठोट व्यक्त गरे । पूर्वमन्त्री हरिप्रसाद न्यौपाने र चालकका पिता मानदत्तले आफू मरेर गए पनि विमानमा सवार यात्रुको ज्यान जोगाएर पुर्याएको योगदानको सर्वत्र प्रशंसा भएको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर