newskoseli.Com

पार्टीभन्दा माथि उठेर जनताको निम्ति काम गर्छु : सञ्चारमन्त्री कार्की

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्की (राम कार्की) ले अाइतबार पदभार ग्रहण गर्दै पार्टीभन्दा माथि रहेर देशको सेवा गर्ने बताएका छन् ।

वि.सं. २०१३ असोज २९ मा ओखलढुङ्गाको रूम्जाटारमा जन्मिएका मन्त्री कार्कीले मन्त्रालयमा आयोजित कार्यक्रमका बीच पदभार ग्रहण गरेका हुन् । सो अवसरमा मन्त्रालयका सचिव, कर्मचारी र मातहतका विभागीय अध्यक्ष तथा महानिर्देशकहरूले मन्त्रीलाई स्वागत गरे ।

वि.सं. २०२८ देखि राजनीतिमा सक्रिय नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका मन्त्री कार्कीले वि.सं. २०२९–०३२, २०३९–०४०, २०४२–०४६ र २०५२–२०६२ मा भूमिगत जीवन बिताएका थिए ।आमा रत्ना कार्की र बाबु अमृतबहादुर कार्कीका छोरा मन्त्री कार्कीले राजनीतिक जीवनमा १ वर्ष ६ महिना बन्दी जीवन बिताएका छन् ।

स्नातकसम्मको अध्ययन पूरा गरेका मन्त्री कार्की विगतमा शिक्षण र पत्रकारिता पेसामा समेत सङ्लग्न थिए । कार्की काठमाडौंबाट समानुपातिक सांसद चुनिएका हुन् ।

पदभार ग्रहणपछि मन्त्री कार्कीले माओवादी केन्द्र पार्टीबाट प्रतिनिधत्व गरेको भए पनि कसैसँग दलगत रूपमा कुनै प्रकारको पूर्वाग्रह नराखी नेपाल र नेपाली जनताप्रति प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री कार्कीले आफूसँग प्रशासनसम्बन्धी खासै अनुभव नभएको बताउँदै आफ्नो कार्यअवधिभर सन्तोषजनक काम गर्नका लागि सहयोग पुर्याउन मन्त्रालयका कर्मचारी र विभागीय प्रमुखसँग आग्रह गरे । कार्कीले आफू मन्त्री रहुन्जेल सबैलाई सहज अनुभूति हुनेगरी काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरे।

‘राजनीतिक पार्टीलाई गाली गर्यो भने ब्युरोक्रेटिक भएछ भनिन्छ, यसले बढी परम्परा वा नजिरलाई प्राथमिकता दिन्छ, यसले क्रिएटिभ केही गर्दैन भनिन्छ त्यसका विपरीत कुनै एउटा राजनीतिकर्मी सत्तामा आउँछ, प्रशासनले त्यसको कुरालाई सहयोग नगर्दा उ तुरून्त असफल हुन्छ’ भन्दै मन्त्री कार्कीले सहयोगका लागि आग्रह गरेका हुन्।

पहिले–पहिले सञ्चार क्षेत्रमा सीमित मानिसहरूको मात्र सहभागिता रहे पनि पछिल्लो समय बढ्दै गएको सञ्चार माध्यमको सङ्ख्यासँगै अराजक भएको जस्तो पनि देखिएको अनुभूति अाफूलार्इ हुने गरेकाे मन्त्री कार्कीले बताए ।

संसारको सबैभन्दा खतरनाक, शक्तिशाली हतियार पत्रकारसँग भएको र त्यसको असर दूरगामी र अत्यन्त घातक हुने हुँदा त्यसलाई अत्यन्त संवेदनशील र गम्भीर भएर प्रयोग गर्न समेत मन्त्रीले सञ्चार माध्यम तथा पत्रकारलाई अाग्रह गरे। मन्त्री कार्कीले नेपाली जनताप्रति प्रतिबद्ध भएर काम गर्न पनि मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिए।

सो अवसरमा सञ्चार सचिव दिनेशकुमार थपलियाले मन्त्रीलाई स्वागत गर्दै मन्त्रीको निर्देशनअनुसार मन्त्रालय र मातहतका विभागले प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाए । सचिव थपलियाले मन्त्रालय र मातहतमा कार्यरत करिव २९ हजार देखि ३० हजारको सङ्ख्यामा कर्मचारी रहेको मन्त्रीलाई जानकारी गराए।

मुलुक सङ्घीय संरचनामा जाँदा पनि सूचना तथा सञ्चार मन्त्रालय रहने प्रतिवेदनले पुष्टि गरेको सन्दर्भमा संविधानको कार्यान्वयनसँगै मुलुकलाई सङ्घीय संरचनामा ढाल्नका निम्ति समेत सञ्चार मन्त्रालयको अत्यन्त ठूलो भूमिका हुने सचिव थपलियाले प्रस्ट पारे ।

मन्त्री कार्कीलाई मन्त्रालयका सचिव थपलियासहित राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्ले, महाप्रबन्धक निर्मला आचार्य, प्रेस काउन्सिल नेपालका अध्यक्ष बाेर्णबहादुर कार्की र नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहाललगायत मन्त्रालय मातहतका विभिन्न विभागीय अध्यक्ष तथा निर्देशकहरूले स्वागत गरेका थिए ।

मन्त्रालय मातहतका विभागीय प्रमुखहरूसँग परिचयात्मक कार्यक्रमको क्रममा मन्त्री कार्कीले सम्वन्धित निकायले गरिरहेको काम कारबाहीको बारेमा चासो व्यक्त गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर