newskoseli.Com

दाहाल सरकारको विशेष दूतका रुपमा उपप्रधानमन्त्री महरा चीन प्रस्थान

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा उत्तरी छिमेकी मुलुक चीनलाई नयाँ सरकारको चासो र प्राथमिकताका बारेमा जानकारी गराउन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । परिवर्तित राजनीतिक स्थिति तथा नयाँ सरकार गठन भएको सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयअनुसार उपप्रधानमन्त्री महरा राजनीतिक भेटघाटका लागि चीन प्रस्थान गएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा रहेको नयाँ सरकारले संविधान कार्यान्वयन, संविधानलाई सर्वस्वीकार्य बनाउने, शान्ति प्रक्रियासँग जोडिएका सत्य निरुपण र बेपत्ता खोजबिनको कार्यलाई निष्कर्षमा पुर्याउने तथा भूकम्पपछिको पुनःनिर्माणको विषयलाई प्राथमिकता निर्धारण गरेको छ । चीनतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै महराले दुर्इ देशबीचका सम्बन्ध विकास र विस्तार गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको प्रष्ट पारे ।

उपप्रधानमन्त्री महराले भने – नयाँ सरकार गठन भएको परिवर्तित अवस्थामा चीनसँगको सम्बन्धलाई सुदृढ गर्न आफू चीन जान लागेको हुँ, राम्रो सम्बन्ध विस्तार गर्नका निमित्त चीनले गर्ने सहयोग र चीनका नेताहरुको नेपाल भ्रमणको पनि अपेक्षा राख्दछौं ।

चीनसँग विगतका सरकारले गरेका राम्रा सम्झौतालाई कार्यान्वयन गर्न अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले चीनले नेपाल सरकारका प्राथमिकतालाई सहयोग गरोस् भन्ने आफ्नो चाहना भएको बताएका थिए ।

उपप्रधानमन्त्री महरा दुर्इ दिनसम्म बेइजिङमा रहँदा चिनियाँ सरकारका उच्चपदस्थ अधिकारी लगायत महत्वपूर्ण व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर