newskoseli.Com

निषेधित क्षेत्रमा १७ हजार विदेशी पर्यटक

सरकारले देशका विभिन्न क्षेत्रलाई सिमाना तोकी निषेधित क्षेत्र कायम गरेकामा ती क्षेत्रमा अध्यागमन विभागबाट अनुमति लिएर गत आर्थिक वर्ष २०७२/७३ मा १७ हजार ३७० विदेशी पर्यटकले पदयात्रा गरेका छन् ।सरकारले राजपत्रमा सूचना प्रकाशित गरी वन्यजन्तु तथा प्राकृतिक स्रोत साधनको संरक्षणका लागि र तिब्बतसँग सीमा जोडिएका कतिपय संवेदनशील क्षेत्रलाई निषेधित क्षेत्र तोक्ने गरेको छ ।

त्यस्ता क्षेत्रमा जथाभावी पर्यटक प्रवेश निषेध र निगरानीका गर्न अनुमतिपत्रको व्यवस्था गरिएको हो । दर्ता भएका ४५० भन्दा बढी एजेन्सीमार्फत अध्यागमन विभाग, काठमाडौँ र पोखरा कार्यालयले ती क्षेत्रमा पदयात्रा अनुमतिपत्र जारी गर्ने गरेको विभागका महानिर्देशक केदार न्यौपानले जानकारी दिए ।

निषेधित क्षेत्रबाट पदयात्रा गर्ने विदेशी पर्यटकबाट राजस्वबापत आव २०७२/७३ मा   २८ करोड, ९१ लाख ९० हजार प्राप्त भएको छ । निषेधित क्षेत्र तोकिएको हुम्लाको सिमिकोटमा सबैभन्दा बढी ८  हजार ९५ जना, मुस्ताङमा ३  हजार ४११, मनास्लुमा २  हजार १६७, तल्लो डोल्पामा ८८०, मनाङ्को नार फुमा ७९८, कञ्चनजङ्घामा ७२२, सुम उपत्यकामा ६१४, माथिल्लो डोल्पामा ४१९, सङ्खुवासभामा ६४, मुगुमा ४९, दोलखामा १४ र अन्य क्षेत्रमा १३७ जना रहेका छन् ।

सिमिकोटहुँदै भारतीय नागरिक तिब्बतको मानसरोबर पुग्ने भएकोले सिमिकोट जानेहरुको सङ्ख्या बढी रहेको विभागका महानिर्देशक न्यौपानको भनाइ छ । निषेधित क्षेत्रमा पदयात्रामा जानेमा सबैभन्दा बढी भारतका ७  हजार ५०५, फ्रान्सका १  हजार ७१८, जर्मनीका १  हजार ५४४, अमेरिकाका १  हजार ४५२, अस्ट्रेलियाका ९८४, बेलायतका ९०६, स्विजरल्यान्डका ८९१, नेदरल्यान्डका ५९३, क्यानडाका ३५९, चेक रिपब्लिकका ३४८, इटलीका ३३६, स्पेनका ३२९ र जापानका ३०५ जना रहेका छन् ।

यस्तै बेल्जियमका २७४, रुसका २४४, दक्षिण कोरियाका १३७, न्युजिल्यान्डका १२९, युक्रेनका १०८, पोल्यान्डका ९५ र चीनका ८९ जना रहेका छन् । पर्यटकबाट १  अर्ब ७३ करोड राजस्व अध्यागमन विभागले आव २०७२/७३ मा पर्यटकबाट १  अर्ब ७३ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ । विभागले प्रवेशाज्ञा दस्तुरबाट करिब १  अर्ब ४३ करोड, पदयात्रा दस्तुरबाट करिब  ३० करोड १९ लाख र प्रशासनिक दस्तुरबाट  ९४ लाख ४५ हजार सङ्कलन गरेको छ । आव २०७१/७२ मा करिब १  अर्ब ९७ करोड ११ लाख राजस्व सङ्कलन भएकामा गत आवमा करिब  २३ करोड २६ लाख कम राजस्व उठेको छ ।

गत आवमा अघिल्लो आवभन्दा प्रवेशाज्ञा दस्तुरबाट उठ्ने रकम कम भएपनि प्रशासनिक दस्तुर र पदयात्रा दस्तुरको रकम वृद्धि भएको विभागका महानिर्देशक न्यौपानले जानकारी दिए । विभागले गत आवमा  १  लाख ६३ हजार ५१८ पर्यटकलाई विभिन्न किसिमका प्रवेशाज्ञा जारी गरेको थियो । जसमध्ये पर्यटक प्रवेशाज्ञा १ लाख ५१ हजार ४३२, नाता सम्बन्ध प्रवेशाज्ञा ३  हजार ४७६, व्यापार प्रवेशाज्ञा ३  हजार १७८, विद्यार्थी प्रवेशाज्ञा १ हजार ९११ र कामदार प्रवेशाज्ञा १  हजार ३९८ रहेको छ । विभागले सबैभन्दा बढी राजस्व सङ्कलन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट   ९२ करोड ३३ लाख, अध्यागमन कार्यालय कालिकास्थानबाट   ६७ करोड २७ लाख, भैरहवा, बेलहिया कार्यालयबाट करिब ८  करोड ७३ लाख, पोखरा कार्यालयबाट ३  करोड ८३ लाख, काँकडभिट्टा कार्यालयबाट  ८४ लाख ४४ हजार, गड्डाचौकी कार्यालयबाट  ५७ लाख २३ हजार, वीरगन्ज कार्यालयबाट करिब  १८ लाख, र नेपालगन्ज कार्यालयबाट ८ लाख ३८ हजार राजस्व उठाएको छ ।

अघिल्लो आवमा करिब १  करोड ३३ लाख राजस्व सङ्कलन भएको कोदारी कार्यालयबाट गत आवमा भूकम्पका कारण बन्द हुँदा राजस्व उठ्न सकेन । त्यस्तै अघिल्लो आव रकम नउठेको रसुवा, टिमुरेको कार्यालयबाट गत आवमा  ११ हजार राजस्व सङ्कलन भएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर