newskoseli.Com

प्राध्यापकले दिए धमाधम राजीनामा

 स्थानीय प्रशासनले एउटै सिफ्टमा २  वा सोभन्दा बढी क्याम्पसमा पढाउने प्राध्यापकमाथि निगरानी थालेसँगै यहाँका सामुदायिक र निजी क्याम्पसका प्राध्यापकहरुले राजीनामा दिन थालेका छन् । सरकारी र सामुदायिक क्याम्पसमा हाजिर गर्ने र निजी एवम् अर्काे सामुदायिक क्याम्पसमा पढाउन जाने प्रचलन बढेपछि स्थानीय प्रशासनले त्यस्ता प्राध्यापकमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

निगरानी बढाएसँगै भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट पुराना सातजना प्राध्यापकले राजीनामा दिएका छन् । सहायक क्याम्पस प्रमुख धर्मराज घिमिरेका अनुसार क्याम्पसको स्थापनादेखि नै कार्यरत प्राध्यापकले समेत राजीनामा दिएका छन् । सोही सिफ्टमा सरकारी क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा समेत पढाउँदै आएका उनीहरुले प्रशासनको निगरानीपछि राजीनामा दिएका हुन् ।

त्यसैगरी भरतपुरकै मैयादेवी कन्या क्याम्पसका २ पूर्व क्याम्पस प्रमुखसहित ५ जनाले राजीनामा दिएका छन् । क्याम्पस प्रमुख कृष्ण न्यौपानेका अनुसार वीरेन्द्र क्याम्पसमा एउटै सिफ्ट परेपछि उनीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिएलगत्तै राजीनामा स्वीकृत गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेलले बताए । स्थापनाकालदेखिका प्राध्यापक भएकाले धेरै सुविधा खाने प्राध्यापकले छाडेसँगै क्याम्पसको व्ययभारमा समेत कटौती भएको छ ।

अर्काे बालकुमारी क्याम्पस नारायणगढमा कार्यरत २ जना प्राध्यापकले पनि राजीनामा दिएको क्याम्पस प्रमुख शिव पौडेलले बताए । उनले भने – “२ जनाले यहाँ छोडेर वीरेन्द्र क्याम्पसमा पढाउन थाले, १ जनाले वीरेन्द्र क्याम्पस छोडेर यहाँ मात्रै पढाउन थालेका छन् ।”

त्यस्तै सरकारी स्वामित्वको स्कुल अफ हेल्थ साइन्स भरतपुरमा पढाउँदै आएका केही प्राध्यापक हाजिर गर्न जान छाडेको प्रिन्सिपल अच्युत दाहालले बताए । अहिले कक्षा सञ्चालन नभएकाले हाजिरमात्रै गर्नुपर्नेमा अन्य क्याम्पसमा पूर्णकालीन भएकाले हाजिर गर्न नमिल्ने भन्दै केही प्राध्यापक हाजिर गर्न आउन छाडेका छन् उनले भने। उनीहरुको तलब रोक्का गरिएको छ ।

नेपाल पब्लिक क्याम्पस सङ्घ चितवनका अध्यक्ष कृष्ण सुवेदीले क्याम्पसहरु स्वयम्ले गर्नुपर्ने निगरानी प्रशासनले गर्नु सकारात्मक रहेको बताए । आफू क्याम्पस प्रमुख रहेको सहिद स्मृति कलेजमा भने गतवर्षदेखि नै यसमा कडाइ गरिएकाले अहिले कसैले राजीनामा दिनु नपरेको बताए ।

यसको प्रत्यक्ष प्रभाव जिल्लाका निजी उच्च माविहरुमा पनि परेको छ । अधिकांश वीरेन्द्र बहुमुखी क्याम्पस पढाउने प्राध्यापकले यहाँका निजी उच्च मावि सञ्चालन गरेका छन् । सिफ्ट मिलाउन सक्नेबाहेक अधिकांशले निजी पढाउन नपाउने भएपछि उच्च माविहरुले प्राध्यापकको रुटिङ मिलाउन कठिन भएको जनाएका छन् ।

निजी उच्च माविहरुको संस्था (हिसान) चितवनका अध्यक्ष भूपेन्द्र धितालले कतिपय निजी उच्च माविको जिम्मेवारीसमेत सरकारी एवम् सामुदायिक क्याम्पसका प्राध्यापकले सम्हालेको भन्दै यसले प्रत्यक्ष प्रभाव पार्ने बताए । यद्यपि विधि सिकाउने प्राध्यापक एकै समयमा २ ठाउँमा पढाउन जानु आफैँमा लाजमर्दाे भएकाले प्रशासनले गरेको निगरानी स्वागतयोग्य रहेको बताए । विज्ञान विषयका केही प्राध्यापकहरु भने पाउन कठिन हुने हुँदा समस्या पर्ने उनले बताए ।

स्थानीय प्रशासनले एकै सिफ्टमा २  वा सोभन्दा बढी ठाउँमा पढाउने प्राध्यापकमाथि कारबाही गर्ने जनाउँदै सबै क्याम्पसबाट रुटिङ मागेपछि प्राध्यापकहरुले राजीनामा दिन थालेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर