newskoseli.Com

सुदूरपश्चिमको मुख्य पर्व गौरा साेमबारदेखि सुरु

 महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान प्राप्ति र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा साेमबारदेखि सुरु भएको छ ।

पौराणिककालमा भगवान् महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार व्रत बसी आराधना गरेकाले मनोकाङ्क्षा पूरा भई विवाहसमेत भएको सम्झानास्वरुप यो पर्व मनाउने हो ।

साेमबार भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर यो पर्व मनाउने गरिन्छ । सुदूरपश्चिम र मध्यपश्चिमका केही जिल्ला तथा भारतको कुमाउमा परापूर्वकालदेखि मनाउँदै आएको यो पर्वको पहिलो दिन साेमबार घर-घरमा महिलाले निराहार व्रत बसी तामाका भाँडामा बिरुडा (मास, गहत, केराउ, गहुँ गुरुस) भिजाएर पर्व सुरु गरिने स्थानीयवासी पण्डित दयाकृष्ण पन्त बताउटन् ।

सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा डालोमा स्थापना गर्ने र दुबधागोसमेत चढाएर पूजा गरी घर मित्र्याउने चलन छ । गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौराखलो (गौरा मनाउने स्थान) मा फाग गाएर पूजाआजा गर्छन् । साँझ अभिषेक गरी दुबधागो घाँटीमा लगाएर देवी विसर्जन गरेपछि प्रसादका रुपमा बिरुडा ग्रहण गर्ने र घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडाको टीका लगाइदिने प्रचलन छ ।

बिरुडा भिजाएपछि महिलाले सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्गलगायतका वस्तुबाट गौराको मूर्ति बनाई गौराघरमा भित्र्याएर पूजा गरिने र विसर्जन नभएसम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर मनोरञ्जन लिने गरिन्छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाँड्नुका साथै माया प्रेमसमेत साट्ने गरिन्छ । मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउनुका साथै, सुखशान्ति हुने, देवदेवी इष्ट र कुलदेवता प्रसन्न हुुने जनविश्वासका साथ मनाइने यो पर्वले यतिबेला सुदूरपश्चिममा चहलपहल र रौनकसमेत बढाएको छ ।

नेपालीको महान चाड बडादशैँ भन्दा पनि सुदूरपश्चिमेलीले बढी महत्वका साथ मनाउने यो पर्वमा परदेशीएकाहरु पनि घर फर्किने र विवाहित चेली पनि माइत आउने गर्दछन् ।

गौरा पर्वको प्रमुख आकर्षण देउडा हो । देउडामा पौराणिक कथा देवीदेवताका गाथालाई गीतका रुपमा गाउनुका साथै सामाजिक विकृतिविरुद्ध पनि तिखो व्यङ्ग्य गरिन्छ । यसैगरी सामाजिक रीतिरिवाज सु:ख दुःख, महिलाका व्यथा पनि देउडाकै माध्यमबाट अभिव्यक्त गर्ने प्रचलन रहेको श्रीकोटका समाजसेवी हेमराज गिरीले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर