newskoseli.Com

को–को थपिँदैछन् कांग्रेसबाट मन्त्री ?

नेपाली कांग्रेसमा सवैभन्दा सर्वोच्च पद सभापति हो । त्यसैले पनि सभापति शक्तिशाली हुने नै भए । विगतका सभापतिको कार्यशैलीले पनि त्यही देखाउँथ्यो । अहिले त्यो पदमा छन् शेरबहादुर देउवा । देउवा नै संसदीय दलका नेता समेत हुन् ।

देउवाकै विशेष ‘गेम प्लान’ मा अहिले मुलुकमा माओवादी नेतृत्वको सरकार छ । तर, सरकार बनेको ३ साता पुग्न लागिसक्दा पनि त्यसले पूर्णता पाएको छैन । माओवादीका कारणले नभई नेपाली कांग्रेसकै कारण पौने महिनासम्म सरकार अपूर्ण रहेको हो ।

सरकारमा कति मन्त्री बन्छन्, कस्ता व्यक्तिलाई मन्त्री बनाइन्छ, आम चासोको विषय हुने नै भयो । त्यसैले पनि गठबन्धनको सफलतासँग कति चरणमा सरकार विस्तार हुन्छ भन्ने कुरालाई समेत जोडेर हेरिन्छ ।

समयमै मन्त्री नै बनाउन नसक्ने भनेर दाहाल सरकारप्रति टीकाटिप्पणी समेत सुरु हुन थालिसकेको छ । सुरुमा नेपाली कांग्रेसले भ्रातृसंगठन नेपाल विद्यार्थी संघको अधिवेशन भनेर पन्छँदै आएकोमा अहिले त्यो काम पनि सम्पन्न भइसकेको छ ।

गएको शुक्रबार नै कांग्रेसले मन्त्री पठाउने चर्चा चलेको थियो, तर काम हुन सकेन । धेरैले कांग्रेसमा पौडेल र देउवाबीच मतभेद रहेकाले समस्या भएको ठानेका थिए । तर, पौडेलपक्षीय एक नेता भने आफ्ना कारण सरकार विस्तारमा कुनै समस्या नभएको बताउँछन् ।

यतिबेला उपप्रधानमन्त्री विमलेन्द्र निधि देशबाहिर छन् । ती नेताले बताएअनुसार विमलेन्द्र निधिलाई नसोधी मन्त्री छानिहालेमा समस्या पो आइहाल्छ कि भनेर मन्त्री चयनमा देउवाले नै ढिलाई गरिरहेका छन् ।

निधिको समर्थन र विरोधले ठूलो अर्थ राख्ने भएकाले अहिले देउवाको चाहनाविनै पनि कुरा अड्किरहेको देउवानिकट नेताहरु समेत स्वीकार्छन् । यद्यपि देउवाले सरकारमा पठाइने मन्त्रीहरुको नामावली तयार पारिसकेको देउवानिकट ती नेताले बताए ।

प्राप्त सूचीअनुसार अब थापिने मन्त्रीहरुको सूचीमा देउवा पक्षका अर्जुननरसिंह केसी, बालकृष्ण खाँण, प्रकाशशरण महत, जीवनबहादुर शाही, मोहनबहादुर बस्नेत रहेका छन् । त्यसैगरी पौडेल पक्षबाट सीतादेवी यादव, केशवकुमार बुढाथोकी, नवीन्द्रराज जोशी, दिपक गिरी छन् भने सिटौला पक्षबाट गगनकुमार थापा वा भीमशेनदाश प्रधान मन्त्री बन्ने चर्चा छ ।

पौडेल पक्षका भनिएका शेखर कोइराला परराष्ट्रमा जान चाहेको तर देउवाले महतलाई बनाउन चाहेकाले कुरा मिल्न नसकेको अर्का वरिष्ठ नेताले बताए । तर यी सबै नामहरुमा निधिले सहमति जनाएपछि मात्रै अन्तिम निर्णय हुने भएकाले मन्त्रीमण्डलको पूर्ण अझै अड्किइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर