newskoseli.Com

दिसाको जीवाणुयुक्त मिठाइ बेच्ने ‘आँगन’ बन्द हुने

मानिसहरुलाई मिठाइमार्फत दिसा खुवाएर अपराध गरिरहेको आरोप खेप्दै आएको ‘आँगन’ तत्कालै बन्द हुने भएको छ । मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने र नेपालका नियम–कानुनको धज्जी उडाउने ‘आँगन’ लार्इ सरकारले बन्द नगरे माओवादीले बन्द गर्ने भएको हो ।

‘आँगन’ को सञ्चालक कम्पनी पशुपति फुड्स प्रालिका मालिक राजेन्द्रप्रसाद देवडाले श्रम स्वीकृति नलिई भारतीय कामदार राखेर नेपालको श्रम ऐनको धज्जी उडाएर अर्को गम्भीर अपराध गरेको खुलासा भएको छ ।

सरकारी अधिकारीहरूले देवडाले कानुनमाथि हमला गरेर गम्भीर अपराध गरेको बताएका छन् । मानव स्वास्थ्यमाथि गम्भीर असर पुर्‍याउने मिठाइ बेचिरहेकाले राज्यले तत्काल ‘आँगन’ बन्द गर्नुपर्ने माग अधिकारीहरूले गरेका छन् ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ काठमाडौं जिल्ला समितिले राजधानीको अनामनगरस्थित संवाद डबलीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवं उपत्यका ब्युरो इन्चार्ज माइला लामाले दूषित मिठाइ बेच्ने ‘आँगन’ मिठाइ पसल तत्काल बन्द गर्नुपर्ने बताए ।

‘आँगन’ ले पशुपति फुड्स प्रालिका नाममा उत्पादित हानिकारक जीवाणुयुक्त मिठाइ बेचिरहे पनि सरकार चुप लागेर बसेको भन्दै लामाले आपत्ति प्रकट गरे । ‘गैरकानुनी रुपमा भारतीय मजदुर राखेर मानव दिसामा पाइने हानिकारक जीवाणुयुक्त मिठाइ बेच्ने ‘आँगन’ मिठाइ पसल र तिनका मालिकमाथि कारबाही गर्नुको सट्टा लेनदेनको बार्गेनिङ गर्नु उपभोक्तामाथिको अपराध हो’ लामाले भने ।

‘आँगन’ मिठाइ पसललाई मिठाइ बिक्रीवितरण कार्य तत्काल बन्द आग्रह गर्दै आफैंले बन्द नगरे नेकपा (माओवादी) को नेतृत्वमा कारबाही अगाडि बढाइने चेतावनी लामाले दिए । ‘उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको तथ्य सरकारी निकायबाटै पुष्टि हुँदा समेत कम्पनीमाथि कारबाही नहुनु दलाल व्यापारीसामु सरकार झुक्नु हो’, लामाले भने– ‘सरकारी लाचारीका अगाडि माओवादीले उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुन दिँदैन । यसको सुरुआत ‘आँगन’ बाटै हुन सक्छ ।’

Aangan_Programमिठाइमा अखाद्य मिसावट गर्ने ‘आँगन’ ले एनसेलको हविगत व्यहोर्नुपर्ने इन्चार्ज लामाको चेतावनी छ । आफ्नो कर्तुत बाहिर सार्वजिनक गरेको आरोपमा पशुपति फुड्सले कर्मचारी निस्कासन गरेर अर्को गल्ती गरेको उनले बताए ।

‘आँगन’ सञ्चालन गरेको पशुपति फुड्स प्रालिले श्रम स्वीकृति नलिई भारतीय कामदार राख्नु श्रम ऐन २०४८ को खिलाफमा रहेको नेपाल गुणस्तर तथा नापतौल विभागका मनोजकुमार उपाध्यायले बताए ।

‘श्रम स्वीकृति नलिई गैरनेपाली कामदार राख्नु कानुनमाथिको हमला हो’, उपाध्यायले भने– ‘कसैबाट उजुरी आए ‘आँगन’ र पशुपतिमाथि तत्काल कारबाही हुन्छ ।’

एउटै कम्पनीको एउटै पदमा कुनै पनि गैरनेपाली कामदार ७ वर्षभन्दा बढी रहन नपाइने र उनीहरुको हरेक वर्ष श्रम इजाजतबारे अनुगमन गर्नुपर्ने कानुनी व्यवस्था रहेको उपाध्यायको भनाइ छ ।

श्रम स्वीकृतिविना कुनै पनि विदेशी कामदारले काम गर्न नपाइने बताउँदै उनले भने– ‘आँगनका कामदारको बारे थप जानकारी लिन्छु ।’ कार्यक्रममा श्रम विभागका वाग्मतीका कारखाना निरीक्षक शंकरसिंह धामीले हरेक वर्गका उपभोक्ताले खाने मिठाइका परिकारको स्रोत खुवामा कोलीफर्म जीवाणु पाइनु गम्भीर अपराध भएको बताए ।

दोषी कम्पनीको इजाजत रद्द समेत हुने प्रावधान कानुनमा रहेको भन्दै कानुनबमोजिम दोषी प्रमाणित कम्पनी वा व्यवसायीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन आफूहरूले सहयोग गर्ने उनले बताए ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सचिव भानु आचार्यले स्वास्थ्यका निम्ति हानिकारक मिठाइका परिकार खुवाएर उपभोक्ताको स्वास्थ्यमाथि अपराध गर्ने ‘आँगन’ लाई छुट नदिने बताए ।

‘आँगन’ को गलत धन्दाको विरोध गरेकै कारण उद्योगका मजदुर कर्मचारी ईकाई सचिव कसेन्द्र सिंह, सल्लाहकार वीरबहादुर साउद र सदस्य भेषराज वाग्लेलाई दुई वर्षदेखि निस्कासन गरिएको भन्दै सचिव आचार्यले आपत्ति जनाए ।

‘भारतीय लगानी भएकै कारण अखाद्य वस्तुको व्यापार गर्ने आँगन मिठाइमाथि कारबाही गर्न सरकार डरायो’ आचार्यले भने । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य भीमसेन बुढाथोकी र काठमाडौं अध्यक्ष होम सुवेदीले ‘आँगन’ का काला कर्तुतको भण्डाफोर गर्दै ठगी धन्दा बन्द गर्नका निम्ति आवश्यक कदम चाल्न मजदुर संगठन तयार रहेको बताए ।

उपभोक्ताको गुनासोपछि तत्कालीन आपूर्ति मन्त्री गणेशमान पुनको अनुगमन टोलीले असार १७ गते गरेको नमूना संकलनमा ‘आँगन’ मिठाइ पसलले बिक्री गर्ने मिठाइको मुख्य स्रोत खुवामा मानव दिसामा पाइने कोलीफर्म नामक जीवाणु १६ हजारभन्दा बढी भेटिएको तथ्य सार्वजनिक भएको थियो ।

खाद्यवस्तुमा कोलीफर्म जीवाणुको मात्रा शून्य हुनुपर्ने खाद्य प्रविधि र गुण नियन्त्रण प्रयोगशाले जनाएको छ । अनुगमन टोलीले ‘आँगन’ लाई कुनै पनि प्रकारको मिठाई बिक्री नगर्न निर्देशन दिएको थियो । ‘आँगन’ ले भने सो निर्देशनको अवज्ञा गर्दै बिक्रीकार्य जारी राखेको छ ।

अनुगमन गर्ने निकायले कारबाहीको प्रक्रिया अगाडि नबढार्इ लाचार देखिएपछि ‘आँगन’ को मानव स्वास्थ्यविरोधी धन्दाप्रति सर्वत्र विरोध भइरहेको छ । डेढ दशकदेखि महँगो मिठाइका परिकार बिक्री गर्दै आइरहेको ‘आँगन’ मिठाइ पसल पशुपति फुड्स प्रालिद्वारा सञ्चालित छ ।

राजधानीका विभिन्न स्थानमा शाखा पसल राखेर उसले बेसन, गुँद, कानपुरी, बुन्दी, पेडा, काजुबर्फी, खुवा बर्फी, बदाम बर्फी, चक्लेट बर्फी, सन्पापडी, लोकल भुजियाजस्ता मिठाइको व्यापार गर्दै आइरहेको छ ।

ललितपुरको पाटन औद्योगिक क्षेत्र हाताभित्र उद्योग रहेको पशुपति फुड्सका मालिक राजेन्द्रप्रसाद देवडा हुन् । एचआर म्यानेजरको जिम्मा शंकर थापालाई दिइएको छ । सरकारी अनुगमन टोलीले उद्योगमा छापा मारेर कर्तुत पत्ता लागाएपछि प्रालि देवडाकी बुहारी अञ्जु गोयन्काको नाममा सारिएको बताइन्छ । मिठाइमा अखाद्य वस्तु मिसावटको सूचना सार्वजनिक गरेको भन्दै उद्योगले ३ मजदुर कर्मचारीलाई निस्कासन गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर