newskoseli.Com

आफ्नै आमा मार्ने बुद्धिबहादुको ‘बुद्धि’ !

सक्ला– १, लैखमका बुद्धिबहादुर खत्रीले साउन २२ मा बञ्चरोले हानेर आफ्नै आमाको हत्या गरे । आफ्नो नाममा जग्गा नामसारी गरिदिन नमानेका कारण बुद्धिबहादुरले आमाको हत्या गरेको खुल्न आएको छ ।

हत्या गर्नुभन्दा दुई दिनअघि घरनजिकैको बारीमा खाल्डो खनेर दुई दिनपछि आमाको हत्या गरी लास गाडेको प्रहरीले जनाएको छ । सम्पत्तिको लोभमा बुद्धिबहादुरले ६५ वर्षीया आमा देउमतीको हत्या गरेको प्रहरीको भनाइ छ । बुद्धिबहादुरका बाबुको मृत्युपछि आमाको नाममा रहेको जग्गा आफ्नो नाममा गर्न नमानेको भन्दै छोराले निर्ममतापूर्वक हत्या गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

लैखम साँघुतरा नलसिंहगाड जलविद्युत् आयोजना निर्माण गर्दा प्रभावित हुने भएकाले त्यहाँका नागरिकलाई आयोजनाले मुआब्जा दिने भएपछि आमाबाट बुद्धिबहादुरले आफ्नो नाममा जग्गा नामसारी गर्न आमालाई दबाव दिँदै आएका थिए । आमाले नमानेपछि जाजरकोट सदरमुकाम जाँदा बाटोमै भीरबाट खसालेर मार्ने योजना समेत रहेको बुद्धिबहादुरले स्वीकार गरेका छन् ।

यसरी गरे अामाको हत्या…

साउन २२ गते राति सुतिरहेको अवस्थामा बञ्चरो प्रहार गरी अामा देउमतीको हत्या गरेको बुद्धिले प्रहरीसमक्ष बयान दिएका छन् । हत्या गर्नुभन्दा दुई दिनअघि नै उनले खाल्डो खन्दा कसैले नदेखून् भनी आवतजावत गर्ने मानिसको निगरानी गर्न श्रीमतीलाई लगाएका थिए । खाल्डो तयार भएको दुई दिनपछि अर्थात् साउन २२ गते बुद्धिबहादुरले म सेपुखोला जान्छु मेरो राति बसाइ उतै हुन्छ, छोराछोरी डराउँछन्, सासूबुहारी सँगै सुत्नुहोला भनी सल्लाह गरेर हिँडेका थिए ।

तर बुद्धिबहादुर राति फर्केर अार्इ अर्कै कोठामा सुते । सुतेका श्रीमानलाई उनकी श्रीमतीले तीन पटक सम्म उठाउने प्रयास गरिन् तर बुद्धिबहादुर नउठेपछि अन्तिम पटक ओढेको कपडा निकालेर बुद्धिबहादुरलाई आफू र सासू सुतेको ठाउँमा ल्याएको बयानका क्रममा बुद्धिले बताएको निमित्त प्रहरी प्रमुख हिक्मत बोहराले बताए ।

बुद्धिले साउन २३ गते आमा हराएको भनी गाउँमा हल्ला गरे । उनले आमा हराएको भन्दै खोजी गरिदिनभदौ २ गते प्रहरी चौकी सेपुखोलामा हुलिया सहितको निवेदन दिए । तर बुद्धिको व्यवहार अस्वाभाविक र शङ्कास्पद देखिएपछि प्रहरीले निगरानीमा राखेको थियो ।

घटनास्थल लैखम विद्युत् आयोजनाको बाँध निर्माणस्थलसँगै जोडिएको गाउँ हो । आयोजनाले यसअघि विद्युतगृह निर्माणस्थल खगेनकोट– १, दल्लीमा सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेको छ । पछिल्लो समय आयोजनाले सक्ला– १ लैखम, सक्ला– २ सेपुखोला, सक्ला– ९ काप्तीका प्रभावित नागरिकलाई मुआब्जा दिने निर्णय गरेको छ ।

केही समयमै निवेदन सङ्कलन गरी मुआब्जा दिइने आयोजना विकास समितिले जनाएको छ । आयोजनाले प्रतिरोपनी ४ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिने गरेको छ । बुद्धिकी आमा देउमतीको नाममा लैखममा १ रोपनी ५ धुर जग्गा रहेको प्रहरीको भनाइ छ ।

मार्न दबाब दिने बुहारी रहिछन्…

आफ्ना जेठाजूको छोरालाई समेत अंश लाग्ने सासूको नाममा रहेको जग्गा आफ्नो नाममा गराउन बुद्धिकी पत्नी शर्मिलाले पटक–पटक दबाब दिने गरेकी थिइन् । देउमतीका श्रीमानको केही वर्षअघि मृत्यु भएपछि जग्गा देउमतीको नाममा नामसारी गरिएको थियो । जग्गा शर्मिलाका नाममा गर्न देउमती राजी नभएपछि हत्या योजना बुनिएको खुलेको छ ।

देउमतीका जेठा छोरा र बुहारीको समेत मृत्यु भइसकेको छ । जेठा छोरातर्फका नाति कामका लागि भारतमा रहेको र नातिनी कोहलपुरमा बसेर पढिरहेकी छन् । देउमतीका नाममा रहेको जग्गा शर्मिलाका नाममा गराउन यसअघि कोसिस गरिएको थियो । तर, मालपोत कार्यालयले अंशियार अरू पनि भएको अवस्थामा उनीहरुको सहमतिबिना नामसारी गर्न नमिल्ने बताएपछि बुद्धिका दम्पती रित्तै फर्किएका थिए ।

घरमा गइसकेपछि पनि शर्मिलाले जग्गा जसरी पनि आफ्नो नाममा गराउन दबाब दिइरहेको प्रहरीले बताएको छ । “पटक पटक कि जग्गा आफ्नो नाममा गर्न कि त आमालाई नै मार्न दबाब दिएको देखिएको छ”, घटनास्थल पुगेर फर्किएका प्रहरी निरीक्षक सुवास भट्टले भने–“नत्र छाडेर जाने धम्कीसहित बुद्धिलाई मानसिक रुपमा टर्चर दिने गरेको देखिन्छ । अन्त्यमा श्रीमान्–श्रीमतीकै योजनामा हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।”

लास यसरी निकाल्यो प्रहरीले…

खाडलमा पुरिएको लासलाई प्रहरी निरीक्षक भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले शनिबार उत्खनन गरेको थियो । लास सडिसकेको अवस्थामा भेटिएको भट्टले बताए । लास अन्यत्र लान सक्ने अवस्थामा नभएपछि प्राथमिक स्वास्थ्यकेन्द्र दल्लीका चिकित्सकलाई लैखम बोलाएर शवपरीक्षण गरिएको प्रहरी निरीक्षक भट्टले बताए । हत्या अभियोगमा बुद्धिबहादुर र उनकी श्रीमती शर्मिलालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला अदालत जाजरकोटले उनीहरुलाई अनुसन्धानका लागि ५ दिन थुनामा राख्न आदेश दिएको छ । दुवै लोग्नेस्वास्नीलाई आजीवन कारावासको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक बोहराले बताए । १५ दिनभित्र हत्याको सबै अनुसन्धान प्रक्रिया सकिने प्रहरी प्रमुखको भनाइ छ ।

आमाबाबु जेलमा, छोराछोरीको बिचल्ली…

लोग्नेस्वास्नी नै हत्या अभियोगमा पक्राउ परेपछि उनीहरुका छोराछोरीको बिचल्ली भएको छ । डेढ वर्षको छोरा शर्मिलाको साथमै छ भने ९ र ४ वर्षीया दुई छोरी र ७ वर्षीय छोरा हेरिदिने घरमा कोही नहुँदा बिचल्ली भएको छ । आमाबाबु जेल गएपछि निर्दोष बालबालिकाको शिक्षादीक्षा र पालनपोषणबारे सर्वत्र चिन्ता बढेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर