newskoseli.Com

चितवन दुर्घटनाका सबै मृतकको सनाखत

नारायणगढ–मुग्लिन सडकखण्डको चितवनको चण्डिभञ्ज्याङ गाविस– ६ कालीखोला नजिकैबाट शुक्रबार बिहान त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका २२ जना सबैकाे सनाखत भएको छ ।

सनाखतपछि सबैका शव अा–अाफ्ना परिवारले बुझेर लगेका छन् । घटनामा घाइते भएका १६ को भरतपुरस्थित २ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु भएकाहरुमध्ये शुक्रबार साँझ ७ बजेसम्म १८ को सनाखत भएको थियो । बाँकी ४ को पनि शनिबार सनाखत भएको छ । उनीहरुमा रौतहट झुनखुनुवा पत्थरा– ३ का ३४ वर्षीय गणेश साह, रौतहटकै बन्जरा– ३ की ४१ वर्षीया तुलसाकुमारी सिंह, रौतहटकै १४ वर्षीय कञ्चन साह र भारत बिहार शिवहर जिल्लाका ११ वर्षीय सन्दिप भगत रहेका छन् ।

घटनामा परी ४ बेपत्ता भएको अनुमान गरिएको छ । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । रौतहटको गौरबाट पोखराका लागि बिहीबार साँझ छुटेको ग १ ख ३७०९ नम्बरको बस दुर्घटनामा परेको थियो ।

९ बेपत्ता भन्दै निवेदन

२२ को मृत्यु हुनेगरी भएको चितवन कालिखोला बस दुर्घटनामा ९ जना बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन परेको छ । सोही गाडीमा सवार आफ्ना आफन्त हराइरहेको भन्दै खोजीका लागि प्रहरीमा निवेदन परेको चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

४ जना बेपत्ता भएको प्रहरीको रेकर्डमा भए पनि अहिले ९ बेपत्ता भन्दै निवेदन परेकाले खोजी जारी रहेको उनले बताए । बेपत्तामध्ये ७ जना रौतहटका छन् । १ भारतका र १ सर्लाहीका छन् । गाडीको चलानीमा भने उनीहरूको नाम उल्लेख नभएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएको भन्दै निवेदन परेकामा रौतहटका शम्भु यादव, दिपेन्द्र शाह, रामबालक जयसवाल, मुकेश राम, ललनकुमार कलवार, विश्वनाथ शाह, रञ्जन यादव, सर्लाहीका राजेश सिंह तथा भारत रक्सौलका राकेश गुप्ता रहेको प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर