newskoseli.Com

तरुण दलको महाधिवेशन अन्याेलमा

नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न भएको १ महिना बित्न नपाउँदै नेपाली कांग्रेसको अर्को शक्तिशाली भ्रातृसंगठन नेपाल तरुण दलको महाधिवेशन भदौ २४, २५ र २६ मा आयोजना हुने बताइएको छ ।

यसैगरी ३ दिनका लागि तोकिएको नेविसंघको महाधिवेशन विवादकै कारण १२ दिनमा सम्पन्न भएको नेपाली कांग्रेसमा महाधिवेशन सुरु नहुँदै फेरि अर्को भ्रातृसंगठन तरुण दलमा समेत विवाद चुलिएको छ ।

संस्थापन पक्ष दावी गर्ने देउवापक्षीय तरुण दलका नेताहरुले भदौ २४ देखि महाधिवेशन हुने बताइरहेका छन् तर पौडेल पक्षका तरुण नेताहरु भने तरुण दलले महाधिवेशनबारे हालसम्म कुनै निर्णय नगरेको बताउँदै महाधिवेशनबारे ‘अनभिज्ञता’ दर्शाएका छन् ।

उनीहरुले तरुण दलको केन्द्रीय समितिको कुनै पनि बैठकमा निर्णय नभएको भन्दै बजारमा आएका महाधिवेशनबारेका हल्ला निराधार भएको बताए ।

पौडेल पक्षका तरुण नेताहरुले आइतबार छुट्टै भेला गरी आफ्नो पक्षका नेताहरु सम्मिलित कुनै बैठकले महाधिवेशनबारे निर्णय नगरेकाले कुनै एउटा समूहले एकलौटी रुपमा गरेको निर्णय र प्रचार अफवाह मात्रै भएको निष्कर्ष निकालेका छन् ।

पौडेल पक्षका तरुण नेता रमेश खरेलले निर्देशक समितिको हवाला दिँदै आएका महाधिवेशनबारेका समाचार निराधार भएको बताए । देउवा पक्षले एकलौटी रुपमा महाधिवेशन गर्ने निर्णय गरेको भए त्यो निर्णय तरुण दलको आधिकारिक निर्णय नभएको खरेलले बताए ।

‘भदौ २४ देखि हुने भनिएको महाधिवेशनका बारेमा हाम्रो समूहका कुनै पनि साथीलाई जानकारी छैन’, खरेलले भने– ‘खै कुन समूहको महाधिवेशन हो ? थाहा छैन । तर, तरुण दलको महाधिवेशन हुने बारेमा केन्द्रीय समितिमा कुनै छलफलै भएको छैन ।’

महाधिवेशन गर्नेबारे आफ्नो पक्षको विमति नरहेको उल्लेख गर्दै भदौ २४ देखि हुने भनिएको महाधिवेशनबारे चाहिँ समितिमा रहेका आफ्नो पक्षका कुनै नेतालाई जानकारी नभएको खरेलले दावी गरे ।

धेरै जिल्लामा प्रतिनिधि विवाद कायमै रहेको, समस्या समाधान र महाधिवेशन आयोजना गर्ने विषयमा आफ्नो समूहसँग कुनै छलफल नै नगरिएको, संस्थागत भन्दा पनि गुटगत रुपमा अगाडि बढ्न खोजिएको भन्दै विवाद नटुंग्याई महाधिवेशन गर्नुको कुनै औचित्य नहुने पौडेल समूहको निष्कर्ष छ ।

तत्कालीन देउवा समूह अहिले संस्थापनको हैसियतमा आइसक्दा पनि गुटको धङधङीबाट मुक्त हुन नसकेको, भ्रातृसंस्थालाई  बलियो बनाउने भन्दा पनि अर्को समूहलाई पाखा लगाउने र संगठन कब्जा गर्ने सोचमा मात्र रहेको अरोप पौडेलपक्षीय तरुण नेताहरुको छ ।

तरुण दलमा आगामी अध्यक्षको दावी गर्दै देशदौडाहामा रहेका पौडेल पक्षका तरुण नेता दामोदर कोइरालाले न्युजकोसेलीसँग भने– ‘विवाद कायमै राखेर महाधिवेशनमा जाँदा नेविसंघमाजस्तै भद्रगोल हुन्छ अनि टीका लगाएर संगठन हाँक्न पाइएला कि भन्ने दाऊमा केही साथीहरु छन्, हामी कदापि त्यसो हुन दिँदैनौं ।’

कोइरालाले तरुण दललाई बलियो र सशक्त संगठनका रुपमा विकास गर्न आम तरुण युवाहरुको भावनाको कदर हुनुपर्ने भन्दै हाल देखिएका विवाद तत्काल बसेर टुंग्याउनुपर्ने बताए ।

आन्तरिक संगठनमा कुनै छलफल नगरी पार्टीको निर्देशक समितिबाट निर्णय लाद्ने कुरा स्वीकार्न नसकिने भन्दै विधि र विधानअनुसार चल्ने वातावरण बनाउन धेरै तरुण नेताहरुले माउपार्टी कांग्रेससँग आग्रह गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर