newskoseli.Com

प्रहरीलाई ५० लाख घूस दिन खोज्ने रकमसहित पक्रिइए

प्रहरीलाई घूस खुवाउन खोज्ने लागूऔषध एम्फेटामाइनको कारोबारी पूर्णबहादुर पाख्रिन तामाङलाई ५० लाख रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

धादिङ सत्यदेवी स्थायी ठेगाना भई काठमाडौँ र नुवाकोटका विभिन्न स्थानमा लुकिछिपी रहँदै आएका उनलाई बूढानीलकण्ठ नगरपालिकास्थित नीलोपुलबाट लागूऔषध नियन्त्रण ब्युरोले वैशाख १७ गते पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले नेपालमा एम्फेटामाइनको मुख्य कारोबारी तामाङ नै रहेको जानकारी दिए ।

पक्राउ परेका तामाङ थाइल्यान्डमा बसी अस्ट्रेलिया, फिलिपिन्स, म्यानमारलगायत पूर्वी एसियाली मुलुकमा अवैध लागूऔषध एम्फेटामाइन कारोबार विस्तार गर्ने धर्मबहादुर तामाङका सहोदर भाइ हुन् ।

चैत ३० गते बच्चाको खेलौना, सुटकेसको डन्डी, क्रिमको डब्वामा लुकाई छिपाई राखिएको अवस्थामा नेत्र गुरुङ र चित्र तामाङमार्फत थाइल्यान्डबाट ल्याएको ३ सय २ ग्राम एम्फेटामाइन ब्युरोले पक्राउ गरेपछि थप अनुसन्धानका क्रममा सो लागूऔषध तामाङले मगाएको खुलेको थियो ।

उनीहरु पक्राउ परेपछि ब्युरोले आफूलाई पनि पक्राउ गर्न सक्ने भन्दै एक व्यक्तिमार्फत ब्युरोका प्रहरी अधिकारीसँग कुुरा मिलाउन ५० लाख रूपैयाँ खर्च गर्ने भन्दै सन्देश पठाएका थिए । उनै व्यक्तिका माध्यमबाट प्रहरीले तामाङलाई पक्राउ गर्न सफल भएको हो ।

तामाङको आर्थिक कारोबार र लागूऔषध एम्फेटामाइन मुद्दाको सम्बन्धमा सम्बन्धित देशका लागूऔषध कानुन कार्यान्वयन निकायसँग समेत आवश्यक समन्वय तथा सहकार्य गरी थप अनुसन्धानको भइरहेको ब्युरोले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर