newskoseli.Com

पशुपतिमा अब पैसावालले पालो मिच्न नपाउने

यसपालिको तीजमा पैसावालहरूले पालो मिचेर पशुपतिनाथको दर्शन गर्न नपाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले यस वर्ष हरितालिका पर्वमा पशुपतिनाथ मन्दिरमा सशुल्क दर्शनको व्यवस्था खारेज गरिदिएकाले पैसावालहरूले पनि पालो बस्नैपर्ने भएको हो ।

मन्दिरमा आएर छोटो समयमा दर्शन गर्न चाहने भक्तजनको सहजताका लागि कोषले १ हजार रूपैयाँको टिकटको व्यवस्था गर्दै आएको थियो । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले मन्दिरमा आउने दर्शनार्थीको सहजतालाई व्यवस्थित बनाउन नेपाल प्रहरीको संयोजकत्वमा ‘एकीकृत सुरक्षा व्यवस्था’ लागू गरिएको जानकारी गराउँदै अब दर्शन गर्न आउने सबैले लाइन लाग्नुपर्ने भएको जनाए ।

प्रहरी उपरीक्षक प्रध्युम्न कार्कीले करिब ३ हजार सुरक्षाकर्मीलाई मन्दिर तथा आसपास क्षेत्रमा खटाइने र दर्शनार्थीलाई मन्दिर दर्शनका लागि चाहिँदो सहयोग उपलब्ध गराउने बताउँदै महिला समुदायलाई त्यस दिन गरगहना नलगाउन आग्रह गरे ।

विशिष्ट व्यक्ति, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालाई लाइन लाग्नु नपर्ने व्यवस्था गरिएको कोषले जनाएको छ । यस कार्यका लागि कोषले करिब १६ लाख रूपैयाँ रकम विनियोजन गरेको छ भने त्यस क्षेत्रमा ४५ वटा सिसीक्यामेराको व्यवस्था गरेको छ । तीजका दिन पशुपतिको दर्शन गर्न करिब ३ लाख भक्तजन आउने अनुमान कोषले गरेको छ ।

तीजका दिन मन्दिर क्षेत्रमा सामाजिक सङ्घसंस्थालाई स्वयमसेवकका रुपमा गतिविधि गर्न समेत प्रतिबन्ध लगाइएको छ । कोषले हरितालिकामा पशुपति मन्दिर तथा त्यस वरपर क्षेत्रका सर्वसाधारणलाई नियमित आवतजावतका लागि उपलब्ध गराउँदै आएको पासको व्यवस्था समेत हटाएको छ । मन्दिरमा आउने सबैलाई सुरक्षाकर्मीले आवश्यक निर्देशन तथा सहयोग गर्नेछन् ।

मित्रपार्क, उमाकुण्ड, कैलाश हुँदै रुद्रगाढेश्वरबाट बाहिरिने व्यवस्था मिलाइएको छ । दर्शनार्थी जयबागेश्वरी, भुवनेश्वरी हुँदै मन्दिर प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिरिने छन् । गौशला, पिङ्गलास्थान, चार शिवालय हुँदै मूल भट्ट निवासबाट बाहिरिने रुटको व्यवस्था गरिएको कोषका निर्देशक भरत मरासिनीले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर