newskoseli.Com

स्वास्थ्यमन्त्रीले छलफल गरे डा. गोविन्द केसीसँग

स्वास्थ्यमन्त्री गगनकुमार थापाले शुक्रबार डा. गोविन्द केसीसँग भेट गरी उनका माग र स्वास्थ्यक्षेत्र सुधारका विषयमा छलफल गरेका छन् । शिक्षण अस्पताल, महाराजगञ्ज पुगी मन्त्री थापाले डा. केसीसँग भेट गरेका हुन्।

भेटका क्रममा डा. केसीले आफूले उठाएका मागका विषयमा मन्त्रालयले के गरिरहेको छ भनी जिज्ञासा राखेका थए । जवाफमा मन्त्री थापाले आफू सधैं उनले उठाएका मागको पक्षमा रहेकाले ती माग पूरा गर्ने विषयमा सकारात्मक रुपमा काम अगाडि बढाइसकेको जानकारी गराए ।

डा. केसीले सरकारी शिक्षण संस्थाका सबै सिट निःशुल्क गर्नुपर्ने, सबै प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज हुनुपर्ने, काठमाडौं उपत्यकामा आउँदो १० वर्षसम्म नयाँ सम्बन्धन नदिने, अधिकतम शुल्क र सिट यो वर्ष झैं व्यवस्था गर्ने, केन्द्रीय प्रवेश परीक्षा लिने व्यवस्था गर्ने र त्यो मर्यादित हुने व्यवस्था गर्ने माग राख्दै आएका छन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध तत्काल संसद्ले महाभियोगको प्रक्रिया अघि बढाउनुपर्ने, माथेमा प्रतिवेदनको सुझाव विपरीत काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी हाल संसदमा विचाराधीन विधेयक तत्काल फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षानीति आउन नदिने तर आफ्नो पदीय अधिकार दुरुपयोग गरेर निहित स्वार्थका लागि सो प्रतिष्ठान विधेयक पारित गर्न खोज्ने सांसदमाथि समेत कानुनी प्रक्रिया बमोजिम छानबिन र कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने लगायतका माग राख्दै ८ पटकसम्म अनसन बसिसकेका छन् ।

हाल सडकबाट आफ्ना माग पूरा गर्नुपर्ने भन्दै सङ्घर्ष थालेका केसीले माग पूरा नभए नवौं पटक आमरण अनशन बस्ने चेतावनी यसअघि नै दिइसकेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर