
काभ्रेपलाञ्चोक जिल्लाको राष्ट्रिय तथा सामुदायिक वनमा भेटिएका ३ सय ५० प्रजातिका जडीबुटी भेटिएको छ। तीमध्ये १० प्रजातिका जडीबुटी मात्रै काभ्रेपलाञ्चोक जिल्ला वन कार्यालयले निकासीका लागि इजाजत दिइएकोे छ ।
महाभारत क्षेत्रको चौडापातेमा बनमा चिराइतो, तीतेपाती, मजिठो, पाखाबेद, बोझो, टिमुर, झ्याउ, लौठसल्लालगायत दुर्लभ मानिने ग्राउण्ड अर्किट नामको जडीबुटीसमेत पाइने भएकाले यसबाट मनग्य लाभ लिन सकिने वन अधिकृत प्रेम खनालले बताए ।
गत आर्थिक वर्षमा निजी वनबाट उत्पादित २ हजार ७ सय ९ किलोग्राम पाषणवेद नामक जडीबुटी निकासीको लागि इजाजत दिइएको र त्यसबाट १३ हजार ५ सय ३३ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
जडीबुटीको उपयोग गर्न सकिने सम्भावना भएपनि त्यसको पहिचान गरी भनेजस्तो लाभ लिन नसकिएकाले जडीबुटी रहेका स्थान पहिचान गर्न जडीबुटी सूचना केन्द्र स्थापना गर्नेलगायतका कार्यक्रम गरिने वन अधिकृत खनालले बताए ।
जडीबुटीखेती विस्तारका लागि ८२ लाख रूपैयाँ बजेट विनियोजन भएकाले त्यसबाट जडीबुटी प्रशोधन तथा भण्डारण र सम्भावित जडिबुटीको पकेट क्षेत्र संवद्र्धन गर्ने लगायतका कार्यक्रम गरिने उनले जानकारी दिए ।