newskoseli.Com

प्रधानमन्त्रीको सम्बोधनमा राष्ट्रको समृद्धिका विषय छैनन् : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार गर्नुभएको सम्बोधनमा राष्ट्रको समृद्धिका विषय उल्लेख नभएको बताएका छन् ।

नेकपा (एमाले) को केन्द्रीय युवा तथा खेलकुद विभागले यहाँ आज आयोजना गरेको ‘राष्ट्रको समृद्धिमा युवाको भूमिका’ विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले भने, “के के न आउला भनेर सुनियो, तर केही आएन, राष्ट्रको समृद्धिका विषय खै ?” उनले सरकार जनतालाई राहत दिनभन्दा माओवादीका लडाकुलाई रकम दिनमा केन्द्रित भएको र प्रधानमन्त्रीको सम्बोधन मयुरको नाच र जादुको खेल जस्तो भएको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री ओलीले द्रुतमार्ग कसले बनाउने, प्रधानमन्त्रीको भारत भ्रमणका कार्यसूची के हुने, चीनका राष्ट्रपतिको भ्रमण के हुने भन्नेमा पनि प्रधानमन्त्रीको सम्बोधन मौन रहेको टिप्पणी गरे । नेपाल गरिब मुलुक नभए पनि गरिब बनाइएको जनाउँदै उनले भने, “मेरो नेतृत्वको सरकारले राष्ट्र निर्माणको कार्यदिशा अघि सारेको थियो, लामो समय काम गर्न र लक्ष्य पूरा गर्न दिइएन तर सरकारबाट हटाइए पनि हाम्रा लक्ष्य र कर्तव्यलाई कसैले हटाउन सक्ने छैन, राष्ट्रिय जागरणको अभियान निरन्तर रहनेछ ।”

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियता खतरामा पर्नसक्नेप्रति सबै सचेत हुनुपर्ने र राष्ट्रिय स्वार्थका मुद्दामा सबै शक्ति एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

उनले विदेशीले नेपालमा गर्ने हस्तक्षेपबारे बोल्दा पार्टीबाट कुनै अप्ठ्यारो पर्ला भनेर आफूले नसोच्ने पनि उल्लेख गरे । नेपाली काँग्रेसका नेत्री सुजाता कोइरालाले मुलुकको समृद्धि र राष्ट्रको स्वार्थका पक्षमा अघिल्ला सरकारले गरेका कामको प्रशंसा गर्दै वर्तमान सरकारले पनि त्यसलाई पछ्याउनुपर्नेमा जोड दिए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर