newskoseli.Com

न्याय नभए अन्तर्राष्ट्रिय अदालत जाने धम्की…

‘गङ्गामाया बचाउ अभियान’ ले आरोपी छविलाल पौडेललाई तत्काल प्रक्राउ गरी कारबाही प्रक्रिया अगाडि नबढाए अन्तर्राष्ट्रिय फौजदारी अदालतमा जाने धम्की दिएको छ ।

छोरा कृष्णप्रसाद अधिकारीको ‘हत्यारा’ लाई ‘कारबाही’ को माग गर्दै गङ्गामाया अधिकारी ३२ दिनदेखि वीर अस्पतालमा आमरण अनशनमा छिन् । अधिकारीको अवस्था गम्भीर बन्दै गएको भन्दै अभियानले साेमबार राजधानीमा पत्रकार सम्मलेन गर्दै उनको जीवनरक्षाका लागि सरकारले मुख्य आरोपी पौडेललाई तत्काल पक्राउ गर्नुपर्ने माग राखेको हाे ।

अभियानकर्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालत समेतले हत्याका मुख्य आरोपीलाई तत्काल पक्राउ गर्न आदेश दिएको उल्लेख गर्दै राष्ट्रिय कानुनबमोजिम कारबाही नगरे आफूहरु अन्तर्राष्ट्रिय कानुनबमोजिम अघि बढ्ने धम्की दिए ।

अभियानकर्ता प्रा. कपिल श्रेष्ठले चितवन जिल्ला अदालतले अस्पतालमै आएर बयान लिने भने पनि अधिकारी बोल्न नसक्ने अवस्थामा रहेको जनाउँदै तत्काल सरकारलाई यसप्रति गम्भीर हुन आग्रह गरे ।

अभियानकर्ता दिनेश त्रिपाठी, कपिल श्रेष्ठ, सुबोध प्याकुरेल, शर्मिला कार्की, रसना ढकाल, आशिकराम कार्की र पुष्प पौडेललगायतले गङ्गामायालाई न्याय दिइएन भने आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्र सङ्घको बैठकमा भाग लिन जानुअघि नै अधिकारीलाई न्याय दिलाउन राष्ट्र सङ्घसमक्ष र महासचिव बान की मुनलाई समेत आग्रह गर्ने धम्की दिए ।

डा. केदारनरसिंह केसीले आफूलाई बचाएर मात्रै आफ्नो अधिकारका लागि लड्न सकिने भन्दै अधिकारीलाई तत्काल अनसन तोड्न आग्रह गरे । केसीले भने– “तपाईंका साथमा हामी छाैं, अनसन तोडेर आउनुहोस् अनि न्यायका लागि सँगै लडौं ।”

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर