newskoseli.Com

पुनर्संरचना आयोगले गलत प्रस्ताव ल्यायो वरिष्ठ नेता नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय निकाय पुनर्संरचना आयोगले प्रस्ताव गरेको ५ सय ६५ वटा स्थानीय निकायको प्रस्ताव गलत भएको बताएका छन् ।

नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीद्वारा सोमबार सदरमुकाम मन्थलीमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा वरिष्ठ नेता नेपालले यस्तो बताएका हुन् ।

नयाँ संविधानलाई टेकेर राज्यले गठन गरेको राज्य पुनर्संचना आयोगले मुलुकमा ५ सय ६५ वटा स्थानीय तहको सिफारिस गरेकोप्रति कडा असहमति व्यक्त गर्दै नेता नेपालले यसलाई बढाएर कम्तिमा १ हजार २ सय देखि १ हजार ५ सयसम्म पुर्याउनु पर्ने बताए ।

‘यदि हामीले यसलाई व्यवहारमा ढाल्न सकेनौ भने उक्त निर्णय नेपाली जनतालाई अभिशाप सावित हुन्छ’, उनले भने– ‘यसबारे मैले हाम्रो पार्टी एमालेभित्र पनि गम्भीर रुपमा छलफल चलाएको छु ।’

आयोगले गरेको प्रस्तावले सोचेजति जनताको हातमा अधिकार पुग्न नसक्ने भन्दै जनआकांक्षाअनुरुप गाउँगाउँमा अधिकार पुर्याउनका लागि पनि उक्त संख्यामा स्थानीय निकायको पुनर्संचरना आवश्यक रहेको उनले बताए ।

उक्त प्रस्तावअनुसार पुनर्संरचना गरिए नेपाली जनताले वास्तविक परिवर्तनको अनुभूति गर्न नसक्ने भन्दै नेता नेपालले यसबारे आफूले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा समेतलाई सुझाव दिएको बताए ।

उनले वर्तमान सरकार गठन भएपछि नेपालको राष्ट्रियतामाथि बाह्य प्रभाव बढेको भन्दै यसको असरका बारे प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि धेरै कुरा भन्न सकिने ठोकुवा गरे ।

उनले मुलुकमा स्थिर सरकार नभएका कारण राजनीतिक अस्थिरता बढेको भन्दै स्थितरताका लागि कुनै पनि हालतमा चैत्रभित्रमा स्थानीय निकायको चुनाव गर्नुपर्ने बताए ।

मुलुकमा देखिएका सबैखाले अप्ठ्याराहरुलाई स्थानीय निकायको चुनावले मात्र परास्त गर्न सक्ने भन्दै जनप्रतिनिधिको अभावका कारण मुलुकमा भ्रष्टाचार र अनियमिताको संस्थागत विकासमा बल पुगेको समेत नेता नेपालले बताए ।

नेपालले जनसभालाई सम्बोधन गर्ने क्रममा सबै राजनीतिक दलका नेताहरुलाई राष्ट्रियता र लोकतन्त्रको जगेर्नासँगै जनताका सामाजिक र आर्थिक रुपान्तरणका निम्ति समेत क्रियाशील हुन आग्रह गरे ।

यी कुरालाई नेकपा (एमाले) का आम नेता तथा कार्यकर्ताहरुले झन् अक्षरशः पालना गर्नुपर्ने भन्दै नेपाली जनताले एमालेप्रति गरेको भरोसालाई नभुल्न पनि उनले सबैमा अनुरोध गरे ।

एमाले जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका नेताहरु देवशंकर पौडेल, कैलाशप्रसाद ढुंगेल, माधव ढुंगेल, सांसद कमला सुवेदीलगायतले पनि सम्बोधन गरे ।

कार्यक्रममा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका विभिन्न पार्टीका ठूलो संख्याका कार्यकर्ताहरुले आ–आफ्ना पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको घोषणा गरे ।

बिहानैदेखि अविरल रुपमा वर्षा भए तापनि कार्यक्रममा एमालेका कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो । कार्यक्रममा स्थानीय र केन्द्रीयस्तरका कलाकारहरुले प्रहसन र सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको एमालेका जिल्ला सचिव आनन्द श्रेष्ठले न्युजकोसेलीलाई बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर