पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । इलामको सूर्याेदय नगरपालिकाको फिक्कलमा मगलबार बिहान आयोजित कार्यकर्ता भेलामा नेता खनालले आगामी माघ ७ गतेसम्ममा स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताउँदै निर्वाचन नभए देश सङ्कटतर्फ उन्मुख हुने धारणा राखे ।
कार्यक्रममा उनले संविधान संशोधन तत्काल सम्भव हुन नसक्ने बताएका छन् । “संविधान कार्यान्वयन चरणमा छ, कार्यान्वयन चरणमा रहेको संविधान संशोधन हुँदैन” – उनले भने । इलामको विकासका साथै समग्र देश विकासका लागि आर्थिक क्रान्ति सुरु भइसकेको उल्लेख गर्दै सुदूरपूर्व इलामबाट देश विकासको अभियान थाल्नुपर्ने उनको भनाइ छ । गत आव २०७२/७३ मा सांसद विकास कोष र निर्वाचन क्षेत्रबाट सञ्चालन गरिएका विभिन्न विकास निर्माणका पूर्वाधारको नेता खनालले अनुगमनसमेत गएका छन् ।