newskoseli.Com

दसैँको मुखमा पूर्वी पहाडी जिल्लामा खाद्यान्नको अभाव

नेपालीहरुको महान् पर्व दसैँ तिहार नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला पाँचथरको अधिकांश सडक अवरुद्ध हुँदा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको छ । बर्षादका कारण ठाउँ ठाउँमा पहिरो झरेको हुँदा सदरमुकामलगायत झापाका विभिन्न सहर बजारबाट खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानी गर्न नसक्दा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको हो ।

जिल्लाको दुर्गम र उत्तर पूर्वी गाविसहरु मेमेङ, प्राङ्बुङ, दक्षिणी गाविसहरु सराङडाँडा, कुरुम्बा, लिम्बा, दूरदम्बीलगायतका गाविसमा अहिले खाद्यान्न अभाव हुन थालेको व्यापारीहरु बताउँछन् । मेमेङ–४ ताङ्लेपाका व्यापारी मित्र सापकोटाले अहिले त्यस ठाउँमा चामल, चिउरा, तेल, चिनी, दाललगायतका सामग्रीको अभाव हुन थालेको बताए ।

यस्तै जिल्लाको दक्षिणी भेगको अवस्था झनै बेहाल छ । राँके रवि सडकको ट्र्याक ओपन भएको ३ दशक भइसक्यो, तर अहिलेसम्म यो सडकको कालोपत्रे त परै जाओस् स्तरोन्नतिसमेत हुन सकेको छैन । जसका कारण अहिले यो सडक ठप्प छ भन्दा फरक नपर्ने स्थानीयवासी बताउँछन् ।

झापाबाट सामान लिएर राँके हुँदै सप्तमी, रवि, मौवा, आङ्नालगायतका ग्रामीण बजारमा हिँडेको ट्र्याक्टर राँकेबाट झन्डै एक हप्तापछि मात्रै पुग्ने गरेको त्यहाँका व्यवसायी बताउँछन् । सप्तमी बजारका व्यवसायी सन्तोष शेर्माले भने – “राँके रविको सडकमा जिप, मोटरसाइकल नचलेको झन्डै ४ महिना हुन लाग्यो अहिले ठप्प छ, अन्यत्र विकल्प नभएर सामान चाहिँ यही सडकबाट ल्याउनुपर्ने हुन्छ, तर सामान अर्डर गरेको हप्ता दशदिनपछि मात्रै आइपुग्छ ।” अहिले त्यस क्षेत्रमा समेत दसैँका लागि चाहिने खाद्यान्न, चामल, चिउरा, दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ ।” त्यस क्षेत्रमा झापाको दमकबाट रतुवाको दोभान हुँदै इलामको लारुम्बा रवि, सप्तमी, आङ्ना, मौवा, कुरुम्बातिर सवारी साधान सञ्चालन हुने गर्छन् ।

अहिले यो सडक पनि रतुवाखोलामा पानीको बहाव बढेपछि ४ महिनाअघिदेखि नै बन्द छ । जसका कारण यो सडकबाट पनि झापाबाट सामान निर्यात गर्न नसकिएको व्यापारीको भनाइ छ । अहिले निरन्तरको वर्षाका कारण जिल्लाका अधिकांश सडक बिग्रिएपछि स्थानीयवासीले सास्ती खेप्न बाध्य छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर