newskoseli.Com

अध्यक्षमाथि ‘कारबाही’ काे तयारीमा महासचिव थापा

वैद्य माअाेवादीका महासचिव रामबहादुर थापाले अध्यक्ष माेहन वैद्यलार्इ ‘कारबाही’ गर्ने तयारी गरिरहेकाे समाचार प्राप्त भएकाे छ । प्राप्त जानकारीअनुसार महासचिव थापाले वैशाख २८ गते अाफू पक्षधर केन्द्रीय नेताहरूकाे बैठक अाह्वान गरेका छन् र साेही बैठकबाट अध्यक्ष वैद्यमाथि ‘कारबाही’ गर्ने तयारी उनले गरेका छन् ।

महासचिव थापाले आह्वान गरेको बैठकमा सहभागी नहुनू भन्दै वैद्यले अाफू पक्षधर केन्द्रीय नेताहरूलार्इ सार्वजनिक अपिल गरेका छन् । अनि अाफूले पनि बैठक नबाेलाएकाे र महासचिवले बाेलाएकाे बैठकमा समेत नअाएकाे भन्दै अध्यक्ष वैद्यलार्इ ‘कारबाही’ गर्दै अाफ्नै नेतृत्वमा नयाँ केन्द्रीय समिति घाेषणा गरेर एमाओवादीसँग औपचारिक एकता प्रक्रिया अघि बढाउने तयारी थापाले गरिसकेकाे साेही पार्टीका एक केन्द्रीय नेताले न्युजकाेसेलीलार्इ बताएका छन् ।

झन्डै तीन वर्षअघि एकीकृत नेकपा (माओवादी) सँग फुटेर बनेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) यसरी विभाजनको संघारमा पुगेकाे छ । एमाअाेवादीसँग विनाशर्त एकतामा जाने कि केही शर्तहरू मनाएर मात्रै जाने भन्ने विवादमा अध्यक्ष माेहन वैद्य र महासचिव रामबहादुर थापा पक्षबीच विवाद उत्कर्षमा पुगेपछि वैद्य माअाेवादी विभाजनकाे डिलमा उभिएकाे हाे ।

एमाअाेवादीसँग विभाजित भएकाे दुर्इ वर्ष नपुग्दै सचिव नेत्रविक्रम चन्दले एउटा पक्ष विभाजित गराएर नयाँ पार्टी बनाएकाे डेढ वर्ष अासपासमा फेरि महासचिव थापाले अर्काे पक्ष विभाजित गराउन लागेका हुन् । चैत १२ देखि १ हप्तासम्म चलेकाे  केन्द्रीय समितिको बैठकमा एमाओवादीसँग एकता गर्ने विषयमा तीव्र मतान्तर भएपछि अध्यक्ष वैद्यले स्थगित गरेको बैठक पुनः सुचारू नहुँदै पार्टी दुर्इ फ्याक हुने भएकाे छ । अध्यक्ष वैद्यले बैठक नराखेकाले पार्टी अकर्मन्यतामा फसेकाे भन्दै महासचिव रामबहादुर थापाले वैशाख २८ गते बैठक आव्हान गरेका छन् ।

यसरी अध्यक्षविनै महासचिवले अाफ्ना पक्षधरलार्इ राखेर समानान्तर ढंगबाट केन्द्रीय समितिकाे अलग्गै बैठक बाेलाएपछि र अझ अध्यक्षमाथि नै ‘कारबाही’ गरेपछि साेही दिनदेखि वैद्य माअाेवादी अाैपचारिक तवरमा विभाजित हुने निश्चित भएकाे छ ।

वैद्य र उनी पक्षधरहरूसँग विभाजित भएपछि अाफू पक्षधर केन्द्रीय नेताहरूकाे बैठकबाट निर्णय गराएर एमाअाेवादीसँग तत्काल एकतामा जाने तयारीलार्इ थापाले अन्तिम चरणमा पुर्याएकाे थापानिकट एक नेताले न्युजकाेसेलीलार्इ बताए ।

महासचिव थापासहित वैद्य माअाेवादीका बहुमत नेताहरु तत्कालै एमाओवादीसँग एकताको पक्षमा भएकाे बताइएकाे छ । अध्यक्ष वैद्य र उनी पक्षधर केही नेताहरू भने विगतमा एमाअाेवादीलार्इ पठाइएकाे छबुँदे प्रस्तावमा सहमति गराएर मात्रै एकता गर्नुपर्छ भन्ने पक्षमा छन्।

वैद्य माअाेवादीकाे केन्द्रीय समितिमा रहेका १ सय ९१ मध्ये १ सय ३० केन्द्रीय सदस्य थापाको पक्षमा रहेको थापा पक्षकाे दावी छ । यसैकारण अध्यक्ष वैद्यले केन्द्रीय समितिको स्थागित बैठक सुचारू नगरेकाे उनीहरूकाे भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर