newskoseli.Com

वर्णविन्यासमा एकरुपताका लागि समिति

नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रकाशनमै वर्णविन्याससम्बन्धी विविधता आएको गुनासो बढेपछि यसको सम्बोधनका लागि प्राज्ञ परिषद्ले तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ ।

परिषद्को भदौ ३१ को बैठकले प्रा.डा. चूडामणि बन्धुको संयोजकत्वमा प्रा.डा. नोवलकिशोर राई र सहप्राध्यापक हेमनाथ पौडेल रहेको समिति गठन गरेको कुलपति गङ्गाप्रसाद उप्रेतीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

“भाषासम्बन्धी उठेका विवाद र छलफलका क्रममा प्रज्ञा–प्रतिष्ठानका शब्दकोशका नयाँ संस्करण र अन्य प्रकाशन प्रतिष्ठानकै निष्कर्षविपरीत छन् भन्ने गुनासाले प्राज्ञ परिषदको वर्तमान नेतृत्वको ध्यानाकर्षण गराएको छ, यस्ता गुनासामार्फत उठेका प्रश्नलाई सम्बोधन गर्न समिति गठन गरिएको हो”– उनले भने ।

समितिलाई २०४० देखि प्रकाशित नेपाली बृहत् शब्दकोशका विभिन्न संस्करण परिमार्जन र प्रबर्द्धन गर्दा प्रतिष्ठानले समय–समयमा गरेका अधिगोष्ठी एवम् सङ्गोष्ठीका निष्कर्षविपरीत के–कस्ता प्रयोग भएका छन्, तिनको विवरण जुटाउने काम समेत दिइएको छ ।

पत्रकार सम्मेलनमा कुलपति उप्रेतीले संयुक्त व्यञ्जनको व्यवस्थापन वैकल्पिक तरिकाले गर्न भाषामा नयाँ व्यवस्था गरिएको बताए । “भाषाका विषयमा तर्क गर्नेले भ्रम र अन्योल सिर्जना गर्न खोजेका छन्, प्रतिष्ठान देवनागरी लिपिलाई विस्थापन गरेर रोमन लिपिलाई संस्थागत गर्ने पक्षमा छैन”– उनले भने ।

भाषासम्बन्धी अहिलेको विवाद शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रको निर्णयका आधारमा भएकाले यसको समाधान गर्ने जिम्मा सरकारको भएको प्रतिष्ठानले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर