नारीवादले काम त गरेको छ, हामी नेपाली महिला प्रश्नसम्म सोध्न सक्ने भएका छौं । हामी सोध्छौं महिनावारी हुँदा हामीलाई अछुत व्यवहार किन ? चाडबाडमा हामी कामदार किन ? रमझममा हामी भागेदारीबाट वञ्चित किन ? इत्यादि प्रश्न हामी गर्छौं ।
यिनै प्रश्नदेखि सुरु भएको हाम्रो लेख प्रश्न सोध्दासोध्दै टुंगिन्छ । आखिर यी प्रश्न कसलाई र किन ? के यी प्रश्न पुरुषलाई हुन् ? हुन् भने किन ? यो त हामी नारीजातिको समस्या हो, पुरुष त बस दर्शक हुन्, उनीहरुको हात मा केही छैन । न उनीहरुलाई महिनावारीको शारीरिक पीडा महशुस हुन्छ न त मानसिक ।
हामीले चाहेमा हाम्रा समस्या आफैंले समाधान गर्न सक्छौं, यसरी रोइलो गरिरहनुपर्ने जरुरत हुँदैन । नारीवादी लेख लेख्ने हामी आफैंबाट सुरु गरौं । तर, के हामी आफैं परिवर्तनका लागि तयार छौं ? यस्ता नारीवादी लेख लेख्ने महिलाहरुलाई मेरो मनमा केही प्रश्नहरु छन् ।
तपार्इं परिआएमा सम्बन्धविच्छेदसम्मका लागि तयार हुनुहुन्छ ? एकल महिलालाई तपार्इं कुन रुपले हेर्नुहुन्छ ? विचरी, महान् वा साधारण ? विवाहित महिलाले खेप्नुपर्ने सबैभन्दा ठूलो समस्या भनेकै घरपरिवार र लोग्नेको साथ छुट्नु हो । हामीले दुःखका कथामा कलम चलाए झैं सुखका प्रारम्भिक पाइलामा कलम चलाउन डराउनुको मुख्य कारण भनेको एक्लो भइन्छ भन्ने डर नै हो ।
हामी आफूले पाएका दुःख त सजिलैसँग व्यक्त गर्न सक्छौं तर यसको समाधानका लागि अघि बढ्न समाजसँग डराउछौं । समाजमा पुरुष मात्र छैनन्, महिला र पुरुष बराबरै छन् । सबै महिला परिवर्तनका लागि नजुट्लान तर जति जुट्न सक्छौं तिनीहरुमा आँट हुनुपर्यो, एक्लै बस्ने आँट ।
सावित्री गौतमको दसैंसम्बन्धी लेख पढें । तर, खासै नौलो केही पाइनँ । यी सब त मेरी आमा र मेरो पनि दिनरातकै रोइला मात्र हुन् । यस्ता रोइला धेरै छापिएका छन् ।
र, अझै पनि यस्ता रोइलालार्इ ‘सशक्त लेख’ भन्ने गरिएको छ । तर, रोइलोले परिवर्तन आउँदैन । उहाँकी सासूले ‘महिनाबारी कट्यो’ भनी सोध्दा ‘किन र’ भनी प्रश्न गर्नुपर्ने थियो । तर, उहाँले लेखको अन्त्यतिर पाठकलार्इ नै उल्टो प्रश्न गर्नुहुन्छ । के कुराको डरले उहाँले आफ्नी सासूसँग केही भन्न सक्नुभएन ? मानौ, उहाँलाई सासूको चित्त दुखाउने मन भएन । तर, के उहाँ साँच्चिकै दसैंका बेला महिनावारी भएको भए कसैलाई यसको सुइँको नदिइकन अरुबेला जस्तै भगवानको पूजा, भान्छाको काम अनि टीका लगाउन घरघरमा जानुहुन्थ्यो ? महिनावारी नितान्त व्यक्तिगत कुरा हो, हामीले चाहेमा यसलाई लुकाउन अवश्य सक्छौं ।
मानौ, उहाँले सासूको चित्त दुखाउनुभयो, त्यसपछि के हुन्छ ? लोग्ने रिसाउलान्, लोग्ने रिसाएर हद भएमा सम्बन्धविच्छेद हुन्छ । उहाँ यसका लागि तयार हुनुहुन्न । शायद त्यसैले सासूको चित्त दुखाउन सक्नुभएन । डिभाेर्सका लागि किन तयार हुनहुन्न ? किनकि एकल महिलालार्इ अझै पनि इज्जतसाथ समाजले स्वीकार्न नसकेको उहाँले जताततै देखिरहनु भएकाे छ । पहिले आफ्नो यो हेराइ बदल्नाेस् अनि सबै कुरा आफैं बदलिन्छ ।
म नारीवादीहरुको दुस्मन होइन, म पनि उहाँहरुजस्तै पीडित महिला हो । म त अझ अशक्त नै छु । म आफू यस परिवर्तनका लागि खडा हुन सक्दिनँ किनकि स्वास्थ्यकै कारण भए पनि म घरपरिवारमा निर्भर छु । तर, बाहिर परिवर्तन गर्ने शक्ति ममा नभए पनि भित्री रुपमा म पूरै रुपान्तरित भइसकेकी छु । म आफूलाई पुरुषभन्दा कम सोच्दिनँ । महिनावारी भएका बेला परिआए भान्छामा पनि जान्छु र मन्दिर जान पनि डराउँदिन ।
यो लेख लेख्दैगर्दा मेरो दिमागमा एउटा प्रश्न सल्बलाइरहेको छ– रोइलाहरु छापिए झैं मूलधारे मिडियाहरूमा समाधानहरु पनि सजिलै छापिएलान् त ? क्रान्तिका लागि आवाज छापिन्छन् तर साँच्चिकै क्रान्तिका कथा छपाउँन गाह्रो हुन्छ । पुरुषलार्इ गरिएका गाली छापिन्छन्, ‘आइमाई’ शब्दका विरोध पनि छापिन्छन्, बलात्कारका रुवार्इ छापिन्छन्, एकल महिलाका दुःख छापिन्छन् तर विद्रोह छापिन गाह्राे हुन्छ । प्रकाशक–सम्पादकहरू महिलाका रुवाइहरू सहर्ष छाप्छन् तर समाजप्रतिको उनको आक्रोश छाप्नचाहिँ केही समय सोच्छन् ।
हामीले धेरै सहिसकेका छौं, अब पनि कति सहने ? अब रुने होइन, लड्ने बेला आइसक्यो । दुःख सुनाउने होइन, सुखको खोजी गर्ने बेला भइसक्यो । हामी अब अनपढ छैनौं, अफिस जान्छौं, कमाउँछौं, हाम्रा पनि अफिसका टेन्सन् हुन्छन्, हामीलाई पनि साथीहरुसँग जमघट गर्ने मन हुन्छ । अब भान्छा हाम्रो मात्र होइन, हामीले आफूलाई माया गर्नु जरुरी छ । हाम्रो महिनावारीलार्इ हामी आफैंले ‘प्राकृतिक हो’ भन्ने मान्नु जरुरी छ । आफूले माने पो अरुलाई मनाउन सकिन्छ !