newskoseli.Com

किन भैरहन्छ यात्रुमाथि ड्राइभर–कन्डक्टरको दुर्व्यवहार ?

शुक्रबार लेलेकी सरु तामाङको सहचालकसँगै विवाद भएको थियो । भीड भएको गाडीमा अलि पछाडि जानका लागि सहचालक भनिरहेका थिए । तामाङले त्यसभन्दा पछाडि जाने ठाउँ नभएको भनेपछि सहचालकले ‘मन लागेको ठाउँमा बस्न निजी गाडी होइन’ भन्दै उनलाई झपारे ।

सार्वजनिक यातायातमा यात्रु र सहचालकबीच भाडा, सिटलगायतका विषयमा दैनिक विवाद हुने गरेको छ । यात्रुले सहचालकसँग जिज्ञासा मात्रै राख्दा पनि तिनले नराम्रो व्यवहार गर्ने यात्रुको गुनासो छ ।

बालकुमारीबाट एकान्तकुनासम्म यात्रा गर्दा १७ रूपैयाँ भाडा तिर्दै आएका भैंसेपाटीका राजीव महर्जनले बिहीबार २० रूपैयाँको नोटबाट फिर्ता पाएनन् । सहचालकसँग ‘भाडा बढेको हो ?’ भनेर सोध्दा विवाद भएको थियो । चानचुन नभएको भन्दै सहचालक यात्रुसँग झगडा गर्न तम्सिए ।

यी र यस्तै दृष्य सार्वजनिक सवारीमा दैनिकजसाे नै देखिन्छन् । तामाङ र महर्जनजस्तै सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले सहचालकको दैनिक दुर्व्यवहार सहनु परिरहेको छ । भाडा तिरेर यात्रा गर्दा समेत सहचालकले सिँत्तैमा लगिदिनु परेजस्तो व्यवहार गर्ने यात्रु बताउँछन् ।

भाडा बढी लिँदा, भीड गाडीमा यात्रुलाई असहज हुँदा, गाडी धेरै ठाउँमा रोकिरहँदा लगायतका कारणले विवाद हुने गरेको हो । दैनिक रुपमा हुने विवाद कहिलेकाहीं सामान्य झगडामा टुङ्गिने गरेको छ भने कहिले लम्बिने गरेको छ ।

यातायात क्षेत्रका अगुवा राम थापा यात्रुसँग राम्रो व्यवहार गर्न लगानीकर्ताले चालक–सहचालकलाई नसिकाउने बताउँछन् । यात्रुसँग जे–जसरी पनि बढी भाडा लिनका लागि सञ्चालकले दबाब दिने गरेका छन् । पढाइ कम भएका सहचालक र चालक सार्वजनिक सवारीमा धेरै छन् । उनीहरुमा व्यावहारिक ज्ञान कम छ । उनी भन्छन्– “लगानीकर्ताले बढी भाडा लिन मात्रै नभएर यात्रुसँग राम्रो व्यवहार गर्न पनि सिकाउनुपर्ने खाँचो छ ।”

महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख (प्रहरी निरीक्षक) सीताराम हाछेथुले सहचालकमा यात्रुलाई सम्मान गर्नुपर्छ भन्ने भावना नभएको बताए । उनले भने– “यात्रुलाई तँ भन्छन्, भाडा तिरेपछि फिर्ता माग्दा भीख मागेजस्तो व्यवहार गर्छन् ।”

सम्बन्धित निकायले चालक र सहचालकलाई यात्रुसँग गर्ने व्यवहार र सवारी नियमका विषयमा ज्ञान दिनुपर्ने उनी बताउँछन् । समयमा गुडाउने र समयमा पुर्याउने विषयमा पनि चालकले वास्ता गर्दैनन् । गाडी भरिएपछि मात्रै चालकले गुडाउँदा पनि विवाद भइरहेको छ ।

यात्रु आफैं सजग हुँदा मात्रै सार्वजनिक यातायातमा चालक सहचालकको व्यवहार सुधार हुन सक्छ । यात्रुले आफूलाई नराम्रो व्यवहार गर्नासाथ ट्राफिक प्रहरीलाई उजुरी गर्नुपर्ने उनले बताए । हाछेथुले भने– “उजुरी गर्ने र कारबाही भए–नभएको बुझ्नुपर्ने खाँचो छ । महाशाखाको १०३ नम्बर र महानगरीय ट्राफिक प्रहरी परिसरको ११०३ नम्बरमा आएका उजुरीका आधारमा कारबाही भइरहेको ट्राफिक प्रहरीको जिकिर छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर