newskoseli.Com

निःशुल्क कम्प्युटर शिक्षा गृहिणी महिलालाई

पर्वतको फलेवासस्थित खानीगाउँमा रहेको मेती सामुदायिक पुस्तकालयले विवाहित गृहिणी महिलालाई निःशुल्क कम्प्युटर शिक्षा दिन सुरु गरेको छ ।

ग्रामीण क्षेत्रका महिलालाई आधुनिक शिक्षा र प्रविधिसँग परिचित गराई सीप र प्रविधियुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले पुस्तकालयमै निःशुल्क कम्प्युटर शिक्षा दिलाउन थालेको हो । कम्प्युटरसम्बन्धी ज्ञान केही थाहा नहुँदा महिला पछाडि परेकाले पुस्तकालयले गृहिणी महिलालाई लक्षित गरी उक्त कार्यक्रम ल्याएको पुस्तकालय व्यवस्थापन समितिले जनाएको छ ।

गृहिणी महिला आधुनिक प्रविधिबाट निकै पछाडि परेको भन्दै राज्यको विभिन्न निकायमा महिला सहभागिता बढाउन कम्प्युटर शिक्षा अनिवार्य भएकाले निःशुल्क कम्प्युटर शिक्षा सिकाउने निर्णय गरेको पुस्तकालयका संरक्षक भोलानाथ शर्माले बताए । विभिन्न ठाउँमा सामुदायिक सिकाइ केन्द्र अलपत्र परेको अवस्थामा पुस्तकालयले गरेको उक्त कार्यले महिलाको सिकाइ उपलब्धिमा समेत वृद्धि हुने देखिएको छ ।

गृहिणी महिलालाई बिहान ११ देखि ३ बजेसम्मको समय मिलाएको लाइब्रेरियन इन्द्र सापकोटाले जानकारी दिए । कम्प्युटर सिक्नका लागि फलेवास आसपासका ५० भन्दा बढी महिला सहभागि हुने गरेका छन् । पुस्तकालयले ६० वर्षभन्दा माथिका नेपाली ज्येष्ठ नागरिक, अशक्त असहाय, सीमान्तकृत नागरिक, दलित, जनजातिलगायतलाई जन्मदर्ता, बसाइँसराइ, प्रमाणपत्र, जग्गाधनी पुर्जा, भौचर, पेन्सनपट्टाको फोटोकपी, इमेल, इन्टरनेट, स्क्यानिङलगायतको सेवासमेत निःशुल्क उपलब्ध गराउने भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर