newskoseli.Com

धुर्मुस–सुन्तलीद्वारा सरकारमाथि गतिलो व्यंग्य : अध्यक्ष वैद्य

नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले भूकम्पपीडितका लागि सरकारले कुनै काम नगरिरहेका बेला कलाकार धुर्मुस–सुन्तलीले वस्ती निर्माण गरिदिएर सरकारमाथि गतिलो व्यंग्यप्रहार गरेको बताएका छन् ।

देशमा राष्ट्रिय स्वाधिनता र जनजीविकका सवाल जटिल बन्दै गइरहेको उल्लेख गर्दै उनले परिवर्तनको आन्दोलनमा नेपाली साहित्यको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

राजधानीस्थित संवाद डबलीमा शनिबार वरिष्ठ माओवादी नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलद्वारा लिखित ‘झुल्कँदो घाम’ कथासंग्रहको विमोचन गर्दै अध्यक्ष वैद्यले परिवर्तनका लागि राजनीतिकर्मी र साहित्यिक–सांस्कृतिक फाँटमा कार्यरत सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

नेपाली साहित्य क्षेत्रले राणाशासन कालदेखि नै परिवर्तन र रुपान्तरणको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै नेता सीपी गजुरेलद्वारा लिखित ‘झुल्कँदो घाम’ ले प्रगतिशील रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास वैद्यले व्यक्त गरे ।

२०३०–३१ सालदेखि नेता गजुरेल र आफू सँगै राजनीतिमा क्रियाशील रहँदै आएको र त्यसबीचमा भारतीय जेलमा समेत एकै समयमा बन्दी जीवन बिताएको स्मरण गर्दै वैद्यले भारतीय जेलमा रहँदा भोगिएका पीडालाई गजुरेलले कलात्मक ढंगले कथामा संग्रहित गरेको बताए ।

नेपालको पञ्चायती कालमाभन्दा पनि तल्लो स्तरको व्यवहार ‘लोकतान्त्रिक’ भारतको जेलमा बिताउनु पर्दाका घघटनाक्रम स्मरण गर्दै वैद्यले यसबाट कथित लोकतन्त्रमाथि झनै घृणा पैदा गरेको बताए ।

उनले भने– ‘गजुरेलजी र म लगभग सँगसँगै जेलमा पर्यौं, उहाँ चेन्नईमा जेल पर्नुभयो, म पश्चिम बंगालमा जेल परें । हिरासतमा रहँदा त साह्रै कष्ट भोगियो अब जेलमा लैजाने भो भनेपछि त खुसी लाग्यो । एक त ‘लोकतान्त्रिक’ देशको जेल त्यसमाथि पनि म त ‘कम्युनिस्ट पार्टीको’ सरकार भएको ठाउँमा जेल परेकाले खुसी नै थिएँ, तर त्यहाँको अवस्था हेर्दा त साह्रै बिजोग पो रहेछ ।’

कथासंग्रहका स्रष्टा तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष गजुरेलले नेपाली समाज रुपान्तरणका लागि सिर्जना आवश्यक रहेको उल्लेख गर्दै आफ्नो सिर्जनाले राजनीतिक उद्देश्यको सेवा गर्छ कि गर्दैन भन्ने चिन्ता रहेको बताए । राजनीतिक काममा व्यस्त रहँदारहँदै कथासंग्रहमा प्रकाशित १० वटा कथा आफूले २५ दिनमै तयार पारेको उनले उल्लेख गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कु्लपति गंगाप्रसाद उप्रेतीले लामो समय राजनीतिमा क्रियाशील रहेका र वैचारिक रुपमा पनि स्पष्ट नेताहरुको नेपाली साहित्यको क्षेत्रमा प्रवेश हुनु सुखद् पक्ष भएको बताए । उनले गजुरेलद्वारा लिखित कथाहरु यथार्र्थपरक ढंगले प्रस्तुत गरिएको उल्लेख गरे ।

अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले गजुरेलका कथा साम्राज्यवाद र सांस्कृतिक साम्राज्यवादीमाथि प्रहार गर्न सफल रहने टिप्पणी गरे । कथासंग्रहमा समाविष्ट कथाहरुले विस्तारवादले विचार र राजनीतिकै कारण क्रान्तिकारीलाई कसरी दमन गर्छ भन्ने कुरालाई प्रष्ट्याएको उनले बताए ।

‘विदेशको जेलजीवन’ शीर्षक कथाले साम्राज्यावादले कसरी लोकतन्त्रको हत्या गरिरहेको हुन्छ भन्ने कुरालाई राम्रोसँग चिरफार गरेको ज्ञवालीले बताए । गलत उद्देश्यका लागि गरिएका कम्युनिस्ट पार्टीका विभाजनहरु र गलत उद्देश्यका लागि गरिएका एकताहरु जनताका विरुद्ध हुन्छन् भन्ने सन्देश पनि कथाले दिएको उनले बताए । साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्र शर्माले ‘झुल्कँदो घाम’ निकै नै आशा र भरोसाको माध्यम बन्न पुगेको उल्लेख गरे ।

कथाकारका रुपमा गजुरेलको यो दोस्रो पुस्तकाकार कृति हो । यसअघि वि.सं. २०६० मा उनको ‘प्रतिरोध’ कथासंग्रह प्रकाशित भएको थियो भने २०३८ मा ‘मधु’ खण्डकाव्य प्रकाशित भएको थियो ।

राजनीतिक क्षेत्रमा उनका ‘ऐतिहासिक भौतिकवाद के हो ?’, ‘तीन महापुरुषको जीवनी (माक्र्स, लेनिन र माओ)’, ‘पेरु क्रान्तिबारे’, ‘नेपाली क्रान्तिका राजनीतिक पहलहरु’, ‘क्रान्ति र प्रतिक्रान्तिका शृंखला’, पोलिटिकल पर्स्पेक्टिभ अफ दि नेप्लीज रिभोल्युसन’ लगायतका कृति प्रकाशित छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर