newskoseli.Com

१ करोडमा निर्मित सुविधासम्पन्न विद्यालय उद्घाटन

एक विदेशी नागरिकले १ करोड रूपैयाँभन्दा बढी व्यक्तिगत सहयोगमा नुवाकोटको सुन्दरादेवीमा सुविधासम्पन्न विद्यालय भवन निर्माण गरिदिएका छन् ।

सुन्दरादेवी–८ काहुलेमा रहेको पञ्चकन्या निमाविको लागि निर्माण भएको उक्त भवनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले सोमबार उद्घाटन गरेका हुन ।

अस्ट्रेलियाली नागरिक जोन रोबर्ट ग्लेनको व्यक्तिगत सहयोगमा १ करोड ६ लाख रूपैयाँको लागतमा विद्यालयमा सुविधा सम्पन्न र भूकम्प प्रतिरोधी १२ कोठे भवन निर्माण भएको हो ।

विद्यालयको जीर्ण पुरानो भवन भूकम्पले भत्किएपछि टहरामा पढाइ सञ्चालन हुँदै आएको विद्यालयमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएपछि अभिभावकसमेत दङ्ग भएका भवनको स्थानीय निर्माण संयोजक सन्तमान तामाङले जानकारी दिए ।

भवन उद्घाटनमा बोल्दै कांग्रेस नेता डा महतले विदेशी मित्रले आफ्नो पसिनाबाट आर्जेको रकम समुदायको हितको लागि लगानी गर्नु भएकाले स्थानीयले यसको सदुपयोग र संरक्षण दुवै गर्नुपर्ने बताए ।

नेता डा महतले स्थानीय निकायको पुनर्संरचनाको ढिलाइको कारण स्थानीय निकायको निर्वाचनमा समेत प्रभाव परेकोले पुनर्संरचनाको काम छिटो गरी निर्वाचन गर्नुपर्ने बताए ।

उनले स्थानीय निकायमा निर्वाचित पदाधिकारी नहुँदा विकास निर्माणमा प्रभाव परेकाले स्थानीय निकायको पुनर्संरचनामा ढिलाइ भएमा अहिलेकै स्थानीय निकायलाई आधार मानेर भए पनि तत्काल निर्वाचन गर्न समेत सुझाव दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाले सुन्दरादेवीको बाघमारा क्षेत्र पर्यटकीय क्षेत्र भएकाले सातबिसे बाघमारा सडकको स्तरोन्नतिको काम तीव्ररुपमा गर्न आग्रह गरे ।

कार्यक्रममा विद्यालय निर्माण गर्न रकम दान गर्ने अस्ट्रेलियाली नागरिक ग्लेनलाई अभिनन्दन समेत गरिएको थियो । ग्लेनले आफूले दिएको रकमबाट राम्रो भवन निर्माण भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य रमेश महत, सुन्दरा उच्च माविका प्राचार्य अमरबहादुर श्रेष्ठ, दुप्चेश्वर उच्च माविका शिक्षक बलराम आचार्य, सुन्दरादेवी निमाविमा प्रधानाध्यापक राजन पाठकलगायतले मन्तव्य राखेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर