newskoseli.Com

मोर्चाभित्र चुलियो असन्तुष्टि, प्रमुख घटकका नेताद्वारा बैठक बहिष्कार

जारी संविधानमा सङ्घीयतालगायतका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनरत सङ्घीय गठबन्धन आबद्ध दलहरुबीच नै असन्तुष्टि चुलिएको छ ।

तराई मधेस केन्द्रित राजनीतिक दलले मोर्चाबन्दी गरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बनाएर आन्दोलन गर्दै आएका थिए । लामो समयको तराई आन्दोलनपश्चात् आन्दोलन कमजोर बन्दै गएपछि संविधानप्रति असन्तुष्टि जनाउने अन्य जातीय तथा क्षेत्रीय राजनीतिक दललाई एकत्रित गरी सङ्घीय गठबन्धन बनाइएको थियो ।

गठबन्धनको बैठकले फोरम अध्यक्ष यादवलाई संयोजक बनाएपछि मोर्चा आबद्ध प्रमुख दलबीच तीव्र असन्तुष्टि बढेको हो । पछिल्लो समय मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलनलाई सशक्त बनाउन गठबन्धनभित्र र बाहिरका दल, सङ्गठनसँग छलफल गर्दै आइरहेको भएपनि मुख्य गठबन्धनभित्रै असन्तुष्टि बढिरहेको छ ।

गठबन्धनले बोलाएको पछिल्ला बैठकमा प्रमुख घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र सद्भावना पार्टीलगायतका नेताहरु उपस्थिति नभएपछि गठबन्धन अन्योलमा परेको छ ।

यद्यपि ती दुवै दलका नेताले भने पार्टीको आन्तरिक कार्य व्यस्तताले गर्दा बैठकमा सहभागी हुन नसकेको बताएका छन् । असोजको पहिलो साता संविधानसभाबाट जारी संविधानप्रति असन्तुष्टि जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन सुरु गरेको थियो ।

बुझिएअनुसार गठबन्धनप्रति असन्तुष्टि जनाउने अधिकांश तराई केन्द्रित दल छन् । उनीहरुले मोर्चाको आडमा आन्दोलन उचाइमा पुगेको र अहिले मोर्चालाई बाइपास गरेर गठबन्धनलाई प्राथमिकता दिइएको भन्दै नेताहरुले समाजवादी फोरमका अध्यक्ष यादवप्रति नै असन्तुष्टि जनाउँदै आएका छन् ।

गठबन्धनको एक घटक तमलोपाका महामन्त्री एवम् प्रवक्ता सर्वेन्द्रनाथ शुक्लले आन्दोलनको मुटु मधेसी मोर्चालाई बाइपास गरेर गठबन्धनलाई प्राथमिकता दिएकाले केही विवाद बढेको बताए  ।

मोर्चालाई बेवास्ता गरेर अघि बढ्दा आन्दोलन नै कमजोर हुने मोर्चाका नेताहरुको भनाइ छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर