newskoseli.Com

कृषि शिक्षामा बढ्दो आकर्षण

खाद्य उत्पादनको महत्व बढ्दै जाँदा कृषि र भेटेरिनरी विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । स्वदेश तथा विदेशमा सहज रोजगारीको अवसरसँगै व्यवसायसमेत गर्न सहज हुने भएपछि कृषि र भेटेरिनरी शिक्षामा विद्यार्थीको आकर्षण बढेको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको कृषि सङ्कायको स्नातक तहमा ३ हजार ९ सय ४ जनाले प्रवेश परीक्षा दिएका थिए । सङ्कायका सहायक डिन विष्णु ओझाका अनुसार सो सङ्कायमा रामपुरमा १ सय ६५ र कास्कीको पुरनचौरमा ५० जनाले मात्र अध्ययन गर्न पाउने छन् । गत वर्ष कृषि सङ्कायमा ३ हजार जनाले प्रवेश परीक्षा दिएका थिए । बर्सेनि कृषि पढ्न चाहनेको सङ्ख्या बढ्दो छ ।

त्यस्तै भेटेरिनरी र मत्स्य विज्ञानमा २ हजार २ सय ३५ जनाले आवेदन दिएकामा १ हजार ७ सय ४७ जनाले प्रवेश परीक्षा दिएका छन् । जसमध्ये ५० ले भेटेरिनरीमा र १६ जनाले मत्स्य विज्ञानमा अध्ययन गर्न पाउने छन् । गत वर्ष ती दुवैमा १ हजार २ सय ५० जनाले आवेदन दिएकामा १ हजार १ सय ८५ जनाले प्रबेश परीक्षा दिएका थिए ।

सो सङ्कायकी डिन डा शारदा थपलिया कृषि शिक्षाको महत्व बढ्दै जाँदा अध्ययनका लागि विद्यार्थीको चाप थपिँदै गएको बताउछिन् । विज्ञान विषयमा दश जोड २ उत्तीर्ण गरी राम्रो अङ्क ल्याएका अधिकांशको चाहना कृषि र भेटेरिनरी शिक्षा बनेको छ । थपलियाका अनुसार प्रवेशिका परीक्षामा ८५ प्रतिशत र १० जोड २ मा ७५ प्रतिशतभन्दा कम अङ्क ल्याएका विद्यार्थी उत्तीर्ण हुन सकेका छैनन् ।

कृषि र भेटेरिनरीमा उच्च शिक्षा सकेपछि स्वदेशमा नै रोजगार र व्यवसाय गर्ने प्रशस्त अवसर रहेको छ । विदेशका लागि पनि सहज अवसर हुन्छ । सोही विश्वविद्यालयका प्राध्यापक एवम् पूर्वरजिस्टार डा सूर्यकान्त घिमिरे विश्वका अधिकांश देशले भविष्यमा कसरी खाद्यान्न पुर्याउने भन्ने विषयमा चिन्तन थालेकाले कृषि शिक्षाको महत्व दिनानुदिन बढ्दै गएको बताउछन् ।

कृषि शिक्षा अध्ययन गरेका जो कोही पनि बेरोजगार नरहेको भन्दै उनले आवश्यक जनशक्ति पूर्ति हुन नसकेको बताए । स्वास्थ्य विज्ञान शिक्षा महँगो भएकाले पनि कृषि शिक्षातर्फ विद्यार्थीको आकर्षण बढेको बताइन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर