newskoseli.Com

काम गर्न नसकिएको प्रहरीकै दुःखेसो…

महानगरीय प्रहरी स्थापना भएको ११ वर्ष पुग्दा समेत यसको अवधारणाअनुरुप काम हुन सकेको छैन । स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमका वक्ताले महानगरीय प्रहरीको अवधारणा अनुरुप काठमाडौं उपत्यकाका प्रहरीलाई अधिकार प्रदान गर्नुपर्नेमा जोड दिए ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बढ्दो सहरीकरणसँगै सुरक्षासँग सम्बन्धित चुनौती सापेक्षित रुपमा बढेको बताउँदै यसको सामना गर्न महानगरीय प्रहरीलाई स्थापनाको उद्देश्य अनुरुप कानुनी अधिकार र संरचनामा ढाल्दै लैजानु आवश्यक रहेकामा जोड दिए । महानगरीय प्रहरी ‘सुरक्षित उपत्यका’ को अवधारणा ल्याई त्यसको कार्यान्वयनमा लागिरहेको जानकारी उनले दिए ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिप रेग्मीले महानगरीय प्रहरीसँग सहकार्य गर्दै विभागले काम गरिरहेको बताए । पूर्वप्रहरी महानिरीक्षक कुबेरसिंह रानाले यतिका वर्ष बित्दा समेत महानगरीय प्रहरीको अवधारणाअनुरुप यसले कार्य सञ्चालन गर्न नसक्नु बेठीक भएको टिप्पणी गरे ।

सो अवसरमा काठमाडौं महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख सनतकुमार थापा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्ट, नेपाल बार एसोसिएसनका उपाध्यक्ष मोतीराज गौतम र डा. हरिहर वस्तीलगायतले उपत्यको सुरक्षा व्यवस्था सुदृढ गर्ने गरी काम गर्न प्रहरीलाई सुझाव दिए ।

काठमाडौं उपत्यकामा आपराधिक घटनाको चुनौती बढ्दै गएपछि एक दशकभन्दा अघि मंसिर १ गते नेपाल प्रहरीले महानगरीय प्रहरी सेवाको अवधारणा ल्याउँदै उपत्यकाका ३ जिल्लामा थप अधिकारसहितको महानगरीय प्रहरी स्थापना गरेको थियो । १८ प्रभाग र ६२ वृत्तमार्फत उपत्यकाका जनतालाई ९ हजार २६ जनशक्ति तथा प्रहरी शक्तिले सेवा प्रदान गर्दै आएको बताइएको छ ।

कार्यक्रममा उपत्यकाका प्रहरी तथा ट्राफिक प्रहरीमा बसेर उत्कृष्ट सेवा गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार, पदक तथा प्रमाणपत्र वितरण गरियो । यस वर्ष उपत्यकामा प्रहरीले अपराध कार्यमा संलग्न ७ हजार ७० जनालाई कानुनी दायरामा ल्याउनुका साथै राजनीतिक दलहरुले सञ्चालन गरेका २ सय ८ विरोधका कार्यक्रममा सुरक्षाकर्मी परिचालन तथा १ सय ९७ सवारीमा सुरक्षा योजना बनाएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर