newskoseli.Com

नपढाई तलब खाए शिक्षकले, जिल्लाले सिफारिस गर्यो विभागले गरेन कारबाही

यहाँ विद्यालयमा नपढाएर जागिर खाने शिक्षकको सङ्ख्या ठूलो रहेको तथ्य सार्वजनिक भएको छ ।

जिल्लामा नयाँ शैक्षिकसत्रको सुरु हुनेबित्तिकै जिल्ला शिक्षा कार्यालयले विद्यालयको अनुगमन गर्दा ठूलो सङ्ख्यामा शिक्षकहरु विद्यालयमा उपस्थित नभएर जागिर खाने गरेको खुलासा भएको हो ।

जिल्ला शिक्षा कार्यालयले दिएको जानकारीअनुसार १५० जनाभन्दा बढी शिक्षक विद्यालयमा नआएर जागिर खाने गरेको तथ्य पत्ता लागेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए ।

नयाँ शैक्षिक सत्रको सुरुमै जाजरकोटका ४० प्रतिशत विद्यालयमा अनुगमन गर्दा ६९ जना शिक्षक विद्यालयमा नभेटिएको जिशिअ सिंहले बताए ।

विद्यालयमा नभेटिएका शिक्षकको हाजिर हेर्दा गयल समय अवधि एक दिनदेखि झन्डै छ वर्षसम्मको रहेको छ । अनुगमन गर्न बाँकी ६० प्रतिशत रहेका विद्यालयमा झन्डै ९० जनाभन्दा बढी शिक्षक गयल अवस्थामा रहेको कार्यालयको दाबी छ ।

सात महिना १५ दिनसम्म गयल हुने शिक्षकमा प्रेमज्योति प्राथमिक विद्यालय मैनपाखा दहका शिक्षक मनवीर थापा रहेको जिशिकाले जानकारी दिएको छ ।

त्यसैगरी झन्डै छ वर्षसम्म गयल हुनेमा तपोभूमि माध्यमिक विद्यालय ध्यार गाउँ रग्दाका विज्ञान विषयका शिक्षक योगेन्द्रनाथ चौवे रहेका छन् । सबै गयल हुने शिक्षकको गणना गर्दा झन्डै १५० भन्दा बढी सङ्ख्या रहेको छ ।

विद्यालयमा अध्यापन नगराई गयल भएका शिक्षकको तलब कटौती गरिने जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । विद्यालयमा पाठ्यपुस्तक अभाव र विद्यार्थी अनुपस्थित भएको बहाना बनाएर शिक्षक गयल हुनु भनेको लज्जाजनक विषय भएको जिशिअ सिंहको भनाइ रहेको छ ।

विद्यालयमा वर्षौंदेखि अनुपस्थित शिक्षकलाई कारबाहीका लागि जिल्लाबाट सिफारिस गरी पठाइसकिएको तर विभागले कारबाही गर्न नसकेको उनको भनाई छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर