टर्कीमा सन् २०१६ को जुलाई १५ मा भएको ‘असफल राज्य विद्रोह’ मा सहभागी भएको आरोपमा अहिलेसम्म सेना, प्रहरी तथा अन्य सरकारी अधिकारीसहित १० हजार कर्मचारीलाई बर्खास्त गरेको यहाँको सरकारी वेवसाइटमा सार्वजनिक गरिएको अनादोलु न्यूज एजेन्सीले जनाएको छ ।
बर्खास्त परेको अधिकांश कर्मचारीमाथि टर्कीका इश्लामिक धर्मगुरु फेतुल्लाह गुलेन, जसले अमेरिकामा स्वघोषित निर्वासन जीवन विताइरहनुभएको छ, को सरकार विरोधी अभियानमा साथ दिन जुलाई १५ मा असफल राज्य विद्रोहीको प्रयास गरेको आरोप लगाइएको छ ।
सरकारको पछिल्लो निर्णयबाट एक हजार २५९ स्थल कमाण्ड, ३९१ नौसेना कमाण्ड र ३३८ हवाई कमाण्ड अन्तर्गतका सैनिक अधिकारीलाई बर्खास्त गरिएको बताइएको छ ।
त्यसैगरी, ‘जेन्डमेरी जलरल कमाण्ड’ अन्तर्गत ४०३ जना बर्खास्तमा परेका छन् भने सात हजार ५८६ प्रहरी अधिकारीलाई सेकुरिटी जेनरल डाइरेक्टरेटले पदमुक्त गरेको छ ।
पछिल्लो जानकारी अनुसार ११७ सार्वजनिक संस्थामा कार्यरत अधिकारीलाई सफाइ दिइएको छ ।
टर्की सरकारले कारवाही अन्तर्गत ५५० जना गैरसरकारी सङ्घसंगठन १९ नीजि स्वास्थ्य संस्था र नौवटा सञ्चार माध्यमलाई बन्द गराएको छ ।
यी सबै टर्कीमा जुलाई १५ मा गरिएको असफल सैनिक विद्रोहमा सम्लग्न वा सहयोग गर्ने सङ्घसंस्था तथा व्यक्तिलाई देशमा सङ्कटकालको घोषणा भएपछि गरिएको कारवाही हुन् भने सरकारले सङ्कटकालको अवधिलाई थप तीन महिना अर्थात् आगामी जनवरीसम्मको लागि बढाएको छ ।
यसैबीच, मङ्गलबार पनि ६० वायुसेनामा कार्यरत अधिकारी माथि पक्राउ पूर्जी जारी गरेको छ । पक्राउ पूर्जी जारी गरिएको व्यक्तिहरुमा सैनिक पाइलट देखि सामान्य अधिकारीसम्म रहेका छन् । उनीहरुलाई आतङ्कवाद विरोधी अनुसन्धान अन्तर्गत अनुसन्धानका लागि पक्राउ गर्ने गरी पूर्जी काटिएको सरकारलाई उद्धृत गदै यहाँको अनादोलु न्यूज एजेन्सीले जनाएको छ ।