newskoseli.Com

२ महिनापछि फर्म खुल्यो, अघिल्लो रातबाटै लाइसेन्स लिनेको लाइन

बुधबार सवारीचालक अनुमतिपत्रको फाराम भर्न नसकेर फर्किएका सिन्धुपाल्चोकका रमेश तामाङ बिहीबार पनि फर्कन बाध्य भए । बुधबार बिहान ७ बजे नै एकान्तकुना पुगेका उनी भीड देखेर फर्किएका थिए । तर, बिहीबार पुनः कार्यालय पुग्दा त्यहाँका कर्मचारीले हलुका सवारी साधनको शुक्रबारसम्मको टोकन सकियो भनेपछि उनी फेरि फर्कन बाध्य भए ।

बाग्मती यातायात व्यवस्था कार्यालयमै बुधबार भेटिएका मकवानपुरका विकास चम्रेल भने फाराम भर्न पाएकामा दङ्ग देखिन्थे । उनी राति ३ बजे नै एकान्तकुना पुगेका रहेछन् । आफू पुग्दा राति ९–१० बजेदेखि बसेकाहरु भेटिएको चम्रेलले बताए ।

कार्यालयले २ महिनापछि बुधबारदेखि चालक अनुमतिपत्रका लागि आवेदन फाराम लिन थालेको हो । लामो समयदेखि बन्द रहेको र अन्य अञ्चल कार्यालयले सेवा नदिएका कारण कार्यालयमा फाराम भर्नेको भीड लागेको छ । बुधबार मात्रै झन्डै ४ हजार सेवाग्राही आइपुगेको कार्यालयमा कार्यरत कर्मचारीले बताएका छन् । १ दिनमा ४ पाङ्ग्रे हलुका सवारी साधनको २ सय र मोटरसाइकलको ५ सय गरेर कार्यालयले जम्मा ७ सयको फाराम लिने गरेको छ ।

रामशाहपथस्थित नेसनल ट्रेडिङ सेन्टरमा सवारी जाँच हुने गरेकामा चाडपर्वका समय नेसनल ट्रेडिङले स्थान उपलब्ध नगराएका कारण २ महिनासम्म सेवा दिन नसकिएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताए । फाराम भर्ने समयमा सधैं भीड हुने भए पनि २ महिनासम्म सेवा ठप्प हुँदा भीड धेरै गुणा बढेको छ । उनी भन्छन्– “सामान्य हुन अझै केही समय लाग्न सक्छ ।”

लामो समयपछि चालक अनुमतिपत्र खुलेकाले प्रमुख यादव मङ्गलबार राति झन्डै ८ः३० बजेसम्म कार्यालयमा भोलिपल्टको तयारीका लागि बसेका थिए । आफू बिहान ६ः३० बजे पुग्दा नै धेरै सेवाग्राही आइसकेका थिए भन्दै उनले सेवाग्राही धेरै भए पनि कार्यालयले क्षमताअनुसार मात्रै सेवा दिन सक्ने बताए । रातिदेखि नै लाम लाग्न आएकालाई प्रहरीले हटाएको थियो । फाराम भर्न नपाएकाहरुले प्रवेशद्वार, पर्खाललगायतका स्थान तोडफोड समेत गरेका छन् ।

कार्यालयले सोमबारदेखि शुक्रबारसम्म मोटरसाइकलको फाराम सङ्कलन गर्दै आएको छ । प्रत्येक दिन ५ सय सेवाग्राहीले फाराम भर्न सक्छन् । हलुका सवारी साधनका लागि भने २ सय जनाले फाराम भर्न पाउने व्यवस्था छ । आइतबार भारी सवारी साधन र स्कुटरका लागि चालक अनुमति पत्रको फाराम लिने गरिएको छ ।

भारी सवारी साधनका दलागि भने १ सय जनाले मात्र फाराम भर्न सक्ने व्यवस्था छ । जुनसुकै सवारी साधनको चालकले फाराम भरेको १ दिनपछि लिखित र २ दिनपछि ट्रायल दिन सक्छन् । यातायात व्यवस्था कार्यालय, ललितपुरमा अहिले नमुनाका रुपमा स्मार्ट चालक अनुमतिपत्र वितरण भइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर