newskoseli.Com

शैक्षिक उन्नयनका लागि विद्यालयलाई आर्थिक सहयोग

म्याग्दीे दोवास्थित कैलाश माविको शैक्षिक उन्नयनका लागि विदेशमा रहेका दोवावासीले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

रोजगारी, अध्ययन र पेसा व्यवसायको सिलसिलामा बेलायत, हङ्कङ, दक्षिण कोरिया र कतारमा पुगेका दोवावासीबाट विद्यालयका निजी स्रोतका शिक्षकको तलब, भत्ता, कम्प्युटर कक्षा सञ्चालन र गुणस्तर वृद्धिका लागि स्थापित अक्षयकोषमा  ३७ लाख ४१ हजार ८ सय ९२ रूपैयाँ सहयोग प्राप्त भएको विद्यालयका प्रअ शिरबहादुर गर्बुजाले बताए ।

ती मध्ये दोवा युके समाज बेलायत र हङ्कङबाट  ३३ लाख ८६ हजार ८ सय ९२ रूपैयाँ, दोवा कोरिया जनसम्र्पक समाजबाट २ लाख ५ हजार रूपैयाँ र कतारमा रहेका दोवावासीले १ लाख ५० हजार रूपैयाँ सहयोग गरेका छन् ।

प्रअ गर्बुजाका अनुसार अक्षयकोषमा १ करोड रूपैयाँ जुटाउने लक्ष्यसहित दोवा गाविसको सबै वडामा पनि चन्दा सङ्कलन अभियान सञ्चालन गरिएको छ । आगामी पुस मसान्तभित्र न्यूनतम १ हजारदेखि ५ हजारका दरले चन्दा सङ्कलन गर्न अभियान सञ्चालन गरिएको हो ।

दिगो आर्थिक स्रोतको व्यवस्थापन गरी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको प्रअ गर्बुजाले बताए । आधारभूत तहसम्मको अनुमति पाएको सो विद्यालयमा विसं २०५६ देखि स्थानीय स्रोत जुटाएर कक्षा ९ र १० को पठनपाठन गरिँदै आएको छ ।

तल्लो तहको दरबन्दी भएर माथिल्लो तहमा पढाउने ३ र निजी स्रोतका १ जना शिक्षकको तलवका लागि मासिक  ३० हजार स्थानीय स्रोतबाट जुटाउने गरिएको छ । सो विद्यालयको कक्षा ६ देखि १० सम्म कम्प्युटर विषयको पठनपाठन गरिँदै आएको छ ।

स्थानीय बासिन्दा, विदेशमा रहेका दोवावासी र विद्यालयको आन्तरिक स्रोतबाट १५ वटा कम्प्युटर खरिद गरी ल्याब सञ्चालन गरिएको शिक्षिका कुशम पुर्जाले बताइन् । गाउँको विद्यालयमा आधुनिक प्रविधियुक्त शिक्षा हासिल गर्न पाउँदा विद्यार्थी उत्साहित भएका छन् । उनीहरुको पढाइप्रति रुची बढेको छ ।

विद्यालयमा हाल १ सय ७२ जना विद्यार्थी अध्ययनरत छन् । अक्षयकोषको ब्याज निजी स्रोतका शिक्षकको तलबभत्ताको अतिरिक्त पूर्वाधार निर्माण र शैक्षिक सामग्रीको व्यवस्थापनका लागि समेत उक्त रकम परिचालन गर्ने लक्ष्य राखिएको छ । अहिले विद्यालयमा जिल्ला शिक्षा कार्यालयको  ३२ लाख रूपैयाँ अनुदान सहयोगमा ४ कोठे भवन पनि निर्माण भइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर