newskoseli.Com

समृद्धिका निम्ति पर्यटन क्षेत्रको विकास : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले पर्यटन क्षेत्रको विकासबिना नेपालको समृद्धि सम्भव नभएको बताएका छन् । उपराष्ट्रपति कार्यालयमा राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज) ले बिहीबार आयोजना गरेको व्यवसायी अभिनन्दन र नाटोज पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले नेपालको समृद्धिका लागि पर्यटन, ऊर्जा, कृषि र जटीबुटीको विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका हुन् ।

पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण क्षेत्र मानिएको नेपालको भौगोलिक बनावट, वेशभूषा, परम्परा, रहनसहन, धर्म र विविधतायुक्त जीवजन्तुको भरपुर उपयोग गर्न सके आर्थिक विकासमा टेवा पुग्ने उपराष्ट्रपति पुनले बताए । गत वर्षको विनाशकारी भूकम्प र नाकाबन्दीले नेपालको पर्यटन क्षेत्रमा निकै ठूलो धक्का लागे पनि यहाँका सञ्चार माध्यमले नेपाल सुरक्षित गन्तव्य हो भनी विश्व सामु पुर्याएको सन्देशको उनले सराहना गरे ।

नेकपा (एमाले) का पर्यटन विभाग प्रमुख सूर्य थापाले नेपालको पर्यटन व्यवसायको विकास आफैंले गर्नुपर्ने बताए । पर्यटन विभागका महानिर्देशक जयनारायण आर्चायले पर्यटन दिगो विकासको एक मात्र आधार भए पनि अपेक्षित विकास गर्न नसकिएको बताए ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्चका नेपालका अध्यक्ष रामप्रसाद सापकोटाले पर्यटकको सम्भावना भएका नयाँ गन्तव्यको खोजी गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा गत वर्ष नेपालको पर्यटन प्रवर्द्धनमा सञ्चार माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक राजु सिलवाल र द राइजिङ नेपालका नायब कार्यकारी सम्पादक नारायण उपाध्यायलाई १०–१० हजार रूपैयाँ पुरस्कार प्रदान गरियो ।

भूकम्पपछिको पुनर्निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पर्यटन व्यवसायी मोहन लम्साल, बोधराज भण्डारी, निरध्वज लामा, सङ्घर्ष विष्ट, दागिली शेर्पा, ऋषिप्रसाद नेपाल, ठाकुरप्रसाद ढुङ्गाना, सागर विष्ट, धीरज बज्राचार्य, कमल शर्मा र रघु चौधरी र बुहलेर बर्नहार्डलाई सम्मान गरियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर