newskoseli.Com

यसरी गरेका थिए चार युवाले कम्युनिस्ट पार्टीको स्थापना

चार जना युवाहरु- पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य र नारायणविलास जोशीले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।

पुष्पलाल श्रेष्ठको पहलमा यी चार युवाहरुले २२ अप्रिल १९४९ अर्थात २००६ साल बैशाख १० गते शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाका बेला पुष्पलाल श्रेष्ठ  जम्मा २५ वर्षका युवा थिए भने नरबहादुर कर्माचार्य २६ वर्षका थिए । निरन्जनगोविन्द वैद्य र नारायणविलास जोशी पनि २५ वर्ष हाराहारीकै उमेरका थिए ।

अहिलेका युवाहरुमा देशका लागि कुनै नयाँ काम आफ्नै पहलमा गर्ने हिम्मत र साहस कम हुन थालेको छ । कुनै पनि काम गर्न ६० कटेका वृद्ध नेताहरुकै पछि लाग्ने वानी परेको छ युवाहरुलाई । तर राणा शासन जस्तो कठोर समयका यी युवाहरुले नयाँ कामको शुरुवात गर्ने हिम्मत गरे ।

पुष्पलाल श्रेष्ठ अमर शहिद गंगालाल श्रेष्ठका माहिला भाइ हुन् । १९९७ सालमा आफ्ना दाजु गंगालाललाई राणा शासकहरुले गोली हानी हत्या गर्नु एक दिन अघि भद्रगोल जेलमा भेट्न सपरिवार पुष्पलाल पुगेका थिए ।

त्यहाँ गंगालालले भाइ पुष्पलाललाई “माइला, मैले प्रजातन्त्रका लागि वालेको दियोलाई तैंले प्रज्वलित पार्नेछस्” भन्नु भएको थियो र यो भनाई नै पुष्पलालको लागि राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत वन्न पुग्यो ।

कम्युनिष्ट पार्टी गठन अगाडि पुष्पलाल नेपाली प्रजातान्त्रिक संघ र नेपाली राष्ट्रिय कांग्रेसमा सक्रिय हुनु हुन्थ्यो । उहाँले क्रमशः कम्युनिष्ट विचारधाराको महत्व र नेपालमा यसको आवश्यकता महसुस गर्दै जाने क्रममा २५ वर्षको युवा उमेर मै नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको नेतृत्व गर्ने हिम्मत गर्नु भयो ।

२२ अप्रिल १९४९ का दिन दिउँसो लगभग २ वजे कोलकाताको श्याम वजार इलाका स्थित नवीन सरकार लेनको २८ नम्वरको घरको दोश्रो तल्लाको एक कोठामा यी चार जना नेपाली युवाहरु भेला भए ।

त्यहाँ एक एक वटा अण्डा र चिया खाइसकेपछि पुष्पलालले कम्युनिष्ट घोषणा पत्रको नेपाली अनुवाद दुई पटक पढेर सुनाउनु भयो । अरु तीन जनाले त्यसलाई समर्थन जनाएपछि पारित भएको घोषणा पुष्पलालले गरे ।

त्यसपछि पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको नेपाली जनतालाई अपिल गरिएको पहिलो पर्चाको हस्तलिखित प्रति पढेर सुनाए । त्यसलाई उपस्थित तीनै जनाले समर्थन गरेपछि त्यसलाई पनि पारित गरेको घोषणा भयो र यसरी नेपाल कम्युनिष्ट पार्टीको विधिवत स्थापना भयो ।

पुष्पलालले अरु संग पनि कम्युनिष्ट पार्टी स्थापनाको लागि छलफल गरेका थिए । तर अरुहरुले नमाने पछि सहमत भएका चार जनावाटै कम्युनिष्ट पार्टी स्थापना गरेका थिए ।

कुन दिन स्थापना गर्ने भन्ने विषयमा अन्योल हुँदा लेनिन जन्मेको दिन अप्रिल २२ मा नै राम्रो होला भन्ने सल्लाह भए अनुसार पुष्पलालले सो दिन सवैलाई कोलकाता वोलाएका थिए ।

सो दिन वैशाख १० गते शुक्रवार परेको थियो । संयोगले यसपाली पनि अप्रिल २२ का दिन वैशाख १० गते शुक्रवार नै परेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर