newskoseli.Com

बोल्नेहरुले कुहिएको पिठो बेचिरहे : बाबुराम

नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले बोल्नेहरुले कुहिएको पिठो पनि बेचिरहेको जिकिर गर्दै संशोधनपछि मात्रै संविधानले पूर्णता पाउने बताएका छन् ।

सो पार्टीसम्बद्ध दलित शक्ति नेपालले बिहीबार बार एशोशियसनको सभाहलमा आयोजना गरेको संविधान संशोधनमा दलित अधिकारको सुनिश्चितता विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै भट्टरार्इले यस्तो धारणा राखेका हुन् ।

संविधान जारी गर्ने समयमा सबैको सहमति जुटाउन खोज्दा धेरै कुराहरु छुटेको उल्लेख गर्दै भट्टरार्इले संविधानलार्इ संशोधन गर्दै पूर्णता दिँदै जानुपर्ने बताए । नेपालमा अहिले एउटा तत्व हलो अड्काएर गोरु चुट्ने काममा लागिरहेको तर्क गर्दै भट्टरार्इले भने– ‘संविधान कुनै पार्टी विशेषका लागि मात्र होइन र यो एक या दुर्इ पुस्ताका लागि मात्र पनि होइन । यो पुस्तौंपुस्ताका लागि बनाइएको सिंगो राष्ट्रको मार्गदर्शक दस्तावेज हो । यो जारी गर्ने बेलामा नै अरु धेरै छलफल र बहस गर्नुपर्दथ्यो, त्यसमा हामी चुक्यौं । अब जनमतका आधारमा संशोधन गरेर संविधानमा रहेका कमीकमजोरी हल गर्दै जानुपर्छ ।’

पूर्वप्रधानमन्त्री भट्टरार्इले अगाडि भने– ‘दोस्रो संविधानसभाको अंकगणित एकदमै अप्ठ्यारो थियो । त्यतिबेला म संवाद समितिको सभापति थिएँ । आफ्ना कुरा राख्नुभन्दा पनि सबैलार्इ कसरी सहमतिमा ल्याउन सकिन्छ भन्ने कुरामा नै मेरो धेरै समय बितेको थियो । त्यसैले हामीले चाहेजस्तो संविधान बनाउन सकिएन ।’

कार्यक्रमका सहभागीलार्इ उत्साहित पार्दै डा. भट्टरार्इले भने– ‘संविधानमा दलितका लागि केही पनि लेखिएकै छैन भन्ने होइन, दलितका केही अधिकारहरु लेखिएका छन् । संविधानमा जति कुराहरु लेखिएका छन्, एकातिर तिनलार्इ कार्यान्वयनका निम्ति कानुन बनाऊ भनेर दबाव सिर्जना गर्नु आवश्यक छ भने अर्कोतिर संशोधनमार्फत नलेखिएका अधिकार लेख भनेर दबाव दिनुपर्छ ।’

‘क्रान्ति र आन्दोलनमा यो संविधान लेखिएको हो । क्रान्तिको राप र ताप सेलाउँदै जाँदा प्रतिगामीहरु हावी हुन पुग्छन् त्यसैले क्रान्तिकारीहरु सेलाउनु हुँदैन’, उनले भने– ‘सबै पार्टीले आफ्ना जनवर्गीय संगठन र पार्टीमै पनि महिला, दलित र आदिवासीहरुलार्इ महत्वपूर्ण जिम्मेवारी दिनु जरुरी छ । समानुपातिक सहभागितालार्इ पूर्णतः पालना गर्नुपर्छ होइन भने महिला र उत्पीडितहरुले कहिल्यै राज्यसत्तामा प्रतिनिधित्व गर्न पाउने छैनन् । त्यहाँ जानुभन्दा अगाडि पार्टीहरुले उनीहरुलार्इ राजनीतिक चेतनाले लैस गराउनु महत्वपूर्ण हुन्छ ।’

‘अहिले बोल्नेको पिठो बिक्ने र नबोल्नेको चामल नबिक्ने भइरहेको छ, बोल्नेहरुले कुहिएको पिठो पनि बेचिरहेका छन्, नबोल्नेले सुगन्धित चामल कुहाइरहेका छन्’ भन्दै नयाँ शक्तिका संयोजक भट्टरार्इले निष्कर्ष सुनाए– ‘दलितका अधिकारको कुरा उठाउँदा राज्य पुनर्संरचना आयोगले अगाडि सारेको प्रतिवेदनलार्इ आधार बनाएर जानुपर्छ, त्यसमा धेरै कुराहरु समेटिएका छन् ।’

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता टोपबहादुर रायमाझी, नयाँ शक्ति पार्टी नेपालका नेता परशुराम तामाङ, संघीय समाजवादी फोरम नेपालका नेता दानबहादुर विश्वकर्मा, दलित संघसंस्थाहरुमा आवद्ध अगुवाहरु गणेश वि.के., डा. मदन परियार, भक्त विश्वकर्मालगायतले पनि आ–आफ्ना विचार व्यक्त गरे ।

दलित शक्ति नेपालकी संयोजक सुशीला श्रीपालीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा गजाधर सुनारले कार्यपत्र प्रस्तुत गरे । कार्यक्रमकाे सञ्चालन हरि श्रीपालीले गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर