newskoseli.Com

भूकम्पको केन्द्रविन्दु बन्दै बुटवल

‘५ नम्बर प्रदेश जोगाउने’ भन्दै सत्ताधारीदेखि विपक्षीसम्मका र मधेशवादीदेखि स्थानीयतावादीसम्मका मध्यपश्चिमका नेताहरूकाे मोर्चाबन्दी भइरहेकाे छ । यसै क्रममा शुक्रबार बिहानैदेखि बुटवलमा र्‍याली र प्रदर्शन सुरू भएका छन् ।

५ नम्बर प्रदेशका पहाडी जिल्लालाई अलग गर्नेगरी संविधान सरकारले संशोधन विधेयक संसदमा दर्ता गरेपछि त्यसको विरोधमा तत्कालै सुरू भएकाे आन्दोलनले क्रमशः उत्कर्षमा पुग्दै गरेकाे बुटवलबाट प्राप्त खबरमा उल्लेख छ।

विभिन्न संघ–संस्थाको आह्वानमा शुक्रबार रुपन्देहीमा र्‍याली निकालिएका छन् भने रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, पश्चिम नेपाल बस व्यवसायी संघ, रुपन्देही उद्योग संघ, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघलगायत सबैजसो व्यावसायिक तथा सामाजिक संघ–संस्था बिहानैदेखि अान्दाेलनमा हाेमिएका छन् ।

उनीहरूले ५ नम्बर प्रदेशका पहाड र तराईलाई अलग गराउने सरकारको प्रस्ताव कुनै हालतमा पनि स्वीकार नगर्ने बताएका छन् । व्यवसायीहरूले पहाडबाट घिउ र तराईबाट नुन साट्ने सदियौंदेखिको सम्बन्ध रहेकाले पहाड–तराई छुट्याउने प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् ।

५ नम्बर प्रदेश जोगाउने एजेन्डा कुनै एउटा दलको नभई सिंगै ५ नम्बर प्रदेशको भएकाले यसलाई जोगाउन आन्दोलनमा उत्रनु परेको सहभागीकाे भनाइ छ । राष्ट्रिय झन्डासहित सहभागी भएका उद्योगी–व्यवसायीले अखण्ड ५ नम्बर प्रदेश कायम गर, प्रदेश टुक्र्याउन पाइँदैन, संविधान संशोधन चाहिँदैन, संशोधन प्रस्ताव फिर्ता गर, नेपाली एकता कायम गर, हिमाल पहाड तराई, कोही छैन पराईजस्ता नारा लगाए छन् ।

संविधान संशोधन प्रस्तावको विरोधमा बुटवलमा प्रदेशस्तरीय सर्वदलीय भेला आयोजना गरिएको छ । विभिन्न राजनीतिक दलहरू सम्मिलित संयुक्त संघर्ष समितिको आह्वानमा आयोजित भेलामा यस क्षेत्रका सबै राजनीतिक दलका केन्द्रीयस्तरका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेकाे त्यहाँबाट प्राप्त समाचारमा उल्लेख छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर