newskoseli.Com

१२ बुँदे भारतमा गर्नु हाम्रो ठूलो कमजोरी : बाबुराम भट्टराई

तत्कालीन नेकपा (माओवादी) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले तत्कालीन विद्रोही नेकपा (माओवादी) र सात संसदवादी दलहरुका बीच भएको बाह्रबुँदे समझदारी भारतीय भूमिमा गरिनु आफूहरुको गम्भीर गल्ती भएको बताएका छन् ।

नेपाली भूमिमै एमालेसँग एक खालको सहमति भइसकेर र कांग्रेससँग अनेकौं चरणमा गृहकार्य नेपालमै भएर पनि अन्तिम दस्तखत गर्ने बेला प्राविधिक कारणले भारतीय भूमि प्रयोग गरिनु आफूहरुको असावधानी र गम्भीर त्रुटि भएको महशुस आफूलाई यतिबेला भइरहेको डा. भट्टराईले बताए ।

‘बाह्रबुँदे सहमति भारतमा गरेर हामीबाट ठूलो गल्ती भएछ, त्यो नेपालमै हुनुपर्थ्यो र हुन सक्थ्यो भन्ने अहिले मलाई लागिरहेको छ’, डा. भट्टराईले भने– ‘नेपालमा यति ठूलो राजनीतिक परिवर्तन हामी आफैंले गर्यौं तर ती सब भारतले गराइदिएजस्तो अर्थ र गम्भीर लाञ्छना हामीमाथि लाग्यो ।’

‘गिरिजाबाबु घोडा चढेर हिँड्न नसक्ने र भूमिगत भएकाले हामी सहर आसपास लामो समय बस्न नसक्नेजस्तो नितान्त प्राविधिक कारणले मात्रै ऐतिहासिक बाह्रबुँदे सहमति भारतमा हुन पुगेको हो, यसका पछाडि अरु कुनै कारणै थिएनन्’, भट्टराईको जिकिर छ ।

milestone

यस्तै–यस्तै त्रुटि र कमजोरीका कारण नेपाली जनतामा नकारात्मक भावनाले स्थान पाएकोमा दुःखेसो पोख्दै डा. भट्टराईले भने– ‘नेपालमा राजनीति गर्ने सबै भारतीय दलाल हुन् भन्ने मानसिकता जनतामा पर्न थाल्यो र झन् बाबुराम त भारतको दलालै रहेछ भनेर राजनीतिकर्मीहरुबाटै एकले अर्कोलाई हिलो छ्याप्ने र कालो पोत्ने मूर्खतापूर्ण काम गरियो ।’

‘महाकाली सन्धिका बेला हामीले एमालेलाई भारतको दलाल भन्यौं, फेरि एमाले–हामी मिलेर कम्युनिस्टजति देशभक्त र कांग्रेसचाहिँ दलाल हो भन्यौं, हामी सत्तामा हुँदा एमाले–कांग्रेसले पालैपालो र एकैचोटि हामीलाई दलाल भने यसरी हामी सबैले सबैलाई अर्काको दलाल भन्नु गलत कुरा थियो’, पूर्वप्रधानमन्त्री भट्टराईले भने– ‘तर, वास्तवमा हामी सबै नै देशभक्त र राष्ट्रवादी नै हौं ।’

नेपाल–भारत सम्बन्धको सही व्यवस्थापनविना नेपालको राष्ट्रिय स्वाधीनता तथा विकास र समृद्धि ज्यादै जटिल विषय भएको भन्दै डा. भट्टराईले विगतमा आफूहरुले नेपाल–भारत सम्बन्धलाई पार्टीगत कोणबाट र पूर्वाग्रहग्रसित भएर आंशिक तथा अपूर्ण रुपमा मात्रै बुझ्न सकेको आफ्नो पछिल्लो बुझाइ रहेको बताए ।

पूर्वप्रधानमन्त्रीहरु र विभिन्न विशेषज्ञहरुद्वारा लिखित तथा डा. विजयकुमार पौडेलद्वारा सम्पादित ‘नेपाल–भारत सम्बन्ध विगत, वर्तमान र भविष्य’ शीर्षक पुस्तक तथा गोपीरमण उपाध्यायद्वारा लिखित ‘पूर्वीय भौतिकवाद’ शीर्षक कृतिको लोकार्पणका निम्ति शुक्रबार राजधानीस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै डा. भट्टराईले सो कुरा बताएका हुन् ।

कार्यक्रममा एमाले नेताहरु योगेश भट्टराई र शंकर पोखरेल तथा पूर्वएमाले नेता एवं वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलगायतले लोकार्पित दुई कृतिको समीक्षा गर्दै दर्शन तथा नेपाल–भारत सम्बन्धका विविध आयाममाथि प्रकाश पारे ।

माइलस्टोन प्रकाशन तथा प्रशारण लिमिटेडद्वारा प्रकाशित कृतिहरुको लोकार्पण गर्न सोही संस्थाले आयोजना गरेको कार्यक्रमको सभापतित्व कृतिका सम्पादक एवं माइलस्टोनका अध्यक्ष डा. विजयकुमार पौडेलले गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर