newskoseli.Com

म कसैकी पत्नी किन बन्ने ?

जब घरमा छोरीको जन्म हुन्छ उसलाई घरको लक्ष्मी भनिन्छ । हुन पनि, उमेर नपुगुन्जेल बाबुको घरमा अनि उमेर पुगेपछि पतिको घरमा सेवा गर्ने एउटी छोरीको प्राकृतिक नाता कस्तो हो बुझ्न कठिन छ ।

जन्मिदा एक्लै जन्मिए पनि धर्तीमा आइपुगेपछि विभिन्न नाता सम्बन्धमा गाँसिन पुग्छे । कसैकी छोरी, कसैकी दिदी, बहिनी त कसैकी नातिनी । नाता पनि के के हुन् के के लगाएर साध्य छैनन् । अनि रितिथिति – चालचलनमा छोरी ठूली हुँदै जान्छे । उसको जिम्मेवारी बदलिन्छ । घर–परिवार बदलिन्छ । जन्मघर छोडेर कर्मघर पुग्छिन् ।

त्यसैले होला छोरीको दुईओटा घर हुन्छ भनिन्छ । एउटा जन्म घर अनि अर्को कर्म घर । छोरी जव विदा भएर पराइ घर जान्छे त्यहाँ विभिन्न नाता र सम्बन्धले जेल्न थाल्छन् ।

कसैकी बुहारी बन्छे, कसैकी पत्नी त कसैकी देउरानी, जेठानी, भाउजु…. । यी सबै जोडिने नाताहरुमा पत्नीको नाताले बढी भूमिका खेलेको हुन्छ । समस्या यहींबाट सुरु हुन्छ । बुहारीले छोरालाई गरेको मायाले आफ्नो हक खोसेको ठानिन्छ । भाउजुले दाजुलाई देखाएको माया अनि छोराले अर्काकी छोरीलाई गरेको मायाले आफूलाई गर्ने मायामा कमी आएको ठानिन्छ । समाजको चरित्र गज्जबको छ ।

बाबुआमाको काख छाडेर अर्काको काखमा लुटपुटिन आउने एउटी नारीको कर्तव्य नवपरिवारलाई सुखी राख्नु नै हो । तर, तिनै नारीमाथि नारीबाट अवहेलना सुरु हुन्छ– मात्र मायाका कारण । छोरा–बुहारीको माया देख्न नसक्ने सासु, दाजु–भाउजुको प्रेममा जल्ने नन्द, देवर–देउरानीको सुखमा भाँडभैलो मच्चाउन चाहने भाउजु नारी पात्र नै हुन् । यसमा आमा अर्थात् सासुको भूूमिका सबैभन्दा अहम् हुन्छ ।

छोरालाई दाइजोका लागि उक्साउने, बुहारीलाई दमन गर्न उचाल्ने आमामा त्यतिबेला नारी हृदय हराएर एउटी नारीमाथि नै अत्याचार गर्न प्रेरित गरिरहेकी हुन्छे । के नारी हृदय समग्र नारीका लागि समान हुँदैन ? आफ्नी छोरीले दुःख पाए माइतै बस भन्ने आमाहरु आफ्नी बुहारीलाई दुःख दिन किन धक मान्दैनन् ? यही नै नेपाली समाजको कुरुप बान्की हो ।

हरेक पत्नीको सुख, सन्तुष्टि भनेको आफ्नो श्रीमान्लाई सहयोग र उसको सफलतामा हात बढाउने हो अनि आफ्नो परिवारलाई खुसी दिनु नै हो । परिवारका हरेक सदस्यको यस्तै चाहना भए पनि जिम्मेवारीले एउटी बुहारीको काँधमा यो बोझ बढी थोपरिएको हुन्छ ।

त्यो बोझ सहजरुपमा निर्वाह गर्दै आफ्नो पतिलाई खुसी पार्न तल्लिन पत्नीको अन्तरमनको कुरा सुन्ने कोही हुँदैन । सारा दुनियालाई बिर्सेर गरी आफ्नो पतिलाई माया गरेको देखेर जल्ने अनि नानाथरि कुरा काट्नेहरु नारी नै हुन् ।

सासु भन्न थाल्छिन् यो नकचरी आएर मेरो छोरोलाई मबाट टाढा बनाइ, अनि नन्द भन्न थाल्छिन् भाउजु आएपछि हाम्रो दाजु टाढा भए अनि देवर जेठाजु भन्छन् दाजु भाइमा झगडा भयो ।

त्यसो भए किन बिवाह गरेको त ? यदि एउटी नारी त्यो घरभित्र भित्रिएपछि झगडा हुन्छ भने अर्काकी छोरीलाई ल्याएर दास बनाउन मानवता, नैतिकता र कानुनले पनि दिंदैन ।

फेरि त्यसो गर्ने भन्नेहरु पनि त्यही घरका सदस्य हुन्, कोही केही समयपछि अर्काको घरमा जालान् । तर पत्नीको नाता अटुट रहन्छ । अरुलाई त्यसो भन्नेहरु आफू भने इमान्दार पत्नी भएरै पेश भैरहेका हुन्छन् । पति–पत्नीको ताना र माया भगवानले नै जुराइदिएको हुन्छ र त्यो मायाले नै सृष्टि धानिएको छ, पारिवारिक बोध सहजतासंग बोधिएको हुन्छ ।

बुहारीले छोरालाई गरेको माया मननपराउने एउटी सासुले पनि आफ्नो पतीलाई अनवरत रुपले माया गरिरहेकी नै हुन्छिन् । अनि मेरो दाइलाई टाढा बनाइ भन्ने नन्दले पनि आफ्नो पतिलाई सारा दुनिया बिर्सने गरी माया गरिरहेका हुन्छिन् वा विवाह नभए एउटा असल पतिका कामना गर्दै मायाको पोको संगालिरहेकी हुन्छिन् । दाजु भाइ झगडा भयो भन्ने देवर जेठाजु पनि आफ्नी पत्नी विना बाँच्नै सक्दैनन् ।

यो यथार्थ हो । मायाबिना संसार अन्धकार छ र त सारा दुनियामा माया गर्नेहरुकै चर्चा हुन्छ । अनि यही दुनियाँ हो माया गर्नेहरुको खोइरो खन्ने । उनीहरुलाई थाहा छ– आफ्नो मायाले गर्दा पछाडि कति जलिरहेका छन्, कति रोइरहेका छन् भनेर । तर यसको पर्वाह हुँदैन । माया गर्नेहरु मायामै लिप्त हुन्छन् ।

माया र विवाह फरक हो । यहाँ विवाहपछिकको मायाको चर्चा गरिएको हुँदा माथि उल्लेखित समस्या घरघरमा देखिरहेकीे छु । यी सबै देख्दा मलाई घरी घरी दुःख पनि लागेर आउँछ ।

कुनै दिन मेरो पनि विवाह हुनेछ अनि मैले पनि सारा दुनियाँलाई नै बिर्साउने गरी मेरो लाग्नेलाई माया दिनेछु अनि मेरो माया देखेर मेरो पछाडि कतिले कुरा काटिरहेका हुनेछन् । कति डाहाले मुर्मुरिएका पनि हुनेछन् र कति रोइरहेका हुनेछन् । के वैवाहिक सम्बन्ध भनेको यस्तै हो ? पत्नीको अर्थ के हो ?

विवाह यस्तै हो भने मैले सोच्नैपर्छ– अनेक लाञ्छनाको भारी बोक्न विवाह किन गर्ने ? विवाह जीवनको अर्को चरणको सुरुवात हो भने म मात्र नोकरी गर्न र विलाशिताको वस्तु बन्न किन विवाह गर्ने ? माया बराबर हुन्छ ? मैले आफ्नो जीवन बिताउने पतिलाई माया गर्दा उनको आमालाई डाहा हुन्छ भने मैले किन विवाह गर्ने ? अनि भोलि अर्काको घरमा जानुपर्ने नन्दलाई मैले मेरो पतिलाई माया गर्दा इष्र्या हुन्छ भने उनले आफ्नो पतिलाई माया नै नगर्लिन त ? उत्तर सबै अविवाहित र विवाहितहरुले दिनुपर्छ । घरभित्रको नयाँ सदस्यलाई सुखद् स्वागतको साटो इष्र्या र अपहेलनाको शिकार बनाउने हो भने म कसैकै पत्नी किन बन्ने ?

यो  लेख डेमोको रुपमा नेपाल जापान बाट  साभार गरिएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर