newskoseli.Com

संविधानको स्वीकार्यता फराकिलो पारौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव जनताको हितमा भएको जिकिर गर्दै यसको सही मूल्याङ्कन हुँदै जाने बताएका छन् ।

साेमबार चितवन महोत्सव २०७३ को उद्घाटन गर्दै दाहालले सहमतिमै संविधान संशोधनको प्रस्ताव टेबुल गरिएको दावी गरे । संशाेधन प्रस्ताव अघि बढ्नाले दलहरुबीच सहमतिको खोजी भई देश निर्वाचनतर्फ धकेलिएको उनको भनाइ छ ।

असहमति भएका विषय आफूले अगाडि नबढाएको बताउँदै प्रधानमन्त्री दाहालले भने– “त्यति गरेर (संशोधन विधेयक ल्याएर) राष्ट्र एकताबद्ध हुन्छ र सम्पूर्ण तराई, पहाड हिमाल चुनावमा जान्छ भने त्यसमा आपत्ति गर्नुपर्ने कारण छैन ।”

प्रधानमन्त्री दाहालले भने– “मधेसी र थारु समुदायका बीच एउटा विश्वासको वातावरण बनाएर हामी निर्वाचनमा गयौं भने मात्रै यो देशलाई अगाडि लैजान सकिन्छ ।” उनले ब्राह्मण–क्षेत्री, खस–आर्यदेखि सबै दलित, मुसलमान र गरिब किसानलाई विश्वासमा लिएर संविधानको स्वीकार्यतालाई केही फराकिलो बनाएर संविधान कार्यान्वयनतर्फ लैजान सक्छु भन्ने विश्वासका साथ आफू प्रधानमन्त्री बनेको जिकिर गरे ।

उनले चितवनको विकास निर्माणका लागि महत्वपूर्ण एकमुष्ट योजना ल्याइने जानकारी दिँदै केरुङ–ठोरी सडक विस्तारले यस क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । उनले नेपाल हुँदै भारत र चीनलाई यातायात सञ्जालमा जोड्न सके यहाँको विकासले गति लिने बताए ।

कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, रामकृष्ण घिमिरे र गीता वाग्लेले जिल्लाको सम्भावना र विकास निर्माण गर्नुपर्ने महत्वपूर्ण योजनाका बारेमा प्रधानमन्त्रीलाई अवगत गराए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले अर्थतन्त्र शिथिल रुपमा अघि बढिरहेकाले निजी क्षेत्रलाई सरकारले सहयोग गर्नुपर्ने बताए । महासङ्घका उपाध्यक्ष शेखर गोल्छा, उद्योगी व्यवसायी किशोर प्रधान र दिनेश श्रेष्ठले कृषिलाई व्यवसायसँग जोड्न सके ७० प्रतिशत आयात प्रतिस्थापन गर्न सकिने बताउँदै शिक्षा र स्वास्थ्यलाई सरकारले अनुगमन गर्नुपर्ने तर नियन्त्रण गर्नु नहुने सुझाव दिए ।

माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५ सय ७ कक्ष छन् । महोत्सव उद्योग वाणिज्य सङ्घ, जिविस र भरतपुर उपमहानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर