newskoseli.Com

भूकम्पकेन्द्र बारपाकमा भेला भर्इ घलेजातिले ल्होसार मनाए

नेपालका विभिन्न ३६ जिल्लाका घले अगुवा शनिबार गोरखाको बारपाकमा भेला भएर ल्होसार मनाए । लिलफङ घले समाज केन्द्रीय समितिको आयोजनामा बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गर्दै भूकम्पकेन्द्र बारपाकमा ल्होसार मनाइएको हो ।

ल्होसार मनाउन गोरखा, धादिङ, लमजुङ, कास्की, भोजपुर, इलामलगायत ३६ जिल्लाका घले अगुवा शुक्रबार नै बारपाक पुगेका थिए । लिलफङ घले समाजका केन्द्रीय अध्यक्ष दिनेश घलेको अध्यक्षतामा हिमालय मावि बारपाकमा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलगायतले शुभकामना व्यक्त गरे ।

कार्यक्रमका लागि हरेक जिल्लाबाट कम्तिमा ५० जना सहभागी बारपाक पुगेको आयोजकले जनाएको छ । घले पहिचान तथा संस्कार, संस्कृति झल्कने झाँकीसहितको र्‍याली हिमालय मावि पुगेपछि कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमस्थलमा घले पहिचान झल्कने वेषभूषा तथा सामग्रीहरु प्रदर्शनमा राखिएका छन् ।

संविधान कार्यान्वयमा जुटौं : नारायणकाजी

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षतासहित प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै दल मिलेर संविधान कार्यान्वयनमा जुट्नुपर्ने बताएका छन् ।

मधेसीलगायत दललाई पनि संविधान स्वीकार्य बनाउन संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरिएको भन्दै उनले संसदबाटै संविधान संशोधन गरेपछि स्थानीय तहको निर्वाचनको मिति तोकिने र आउँदो वैशाखभित्रमा स्थानीय तहको चुनाव गराइसक्ने गरी सरकार तथा पार्टीले गृहकार्य गरिरहेको जानकारी दिए ।

“अबको एक सातामा स्थानीय तहको चुनाव गर्ने मिति घोषणा हुन्छ”– शनिबार बारपाकमा आयोजित ल्होसार मनाउने कार्यक्रममा नेता श्रेष्ठले भने– “आउँदो मङ्सिरभित्रमा स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गरी देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ ।”

कमिसन, भ्रष्टाचार र नातावादले राजनीतिलाई फोहर बनाएको भन्दै उनले राजनीति शुद्ध बनाउन जनता लाग्नुपर्नेमा जोड दिए । भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भएको उनको ठहर छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर